पोखरा । गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले पोखरा १९ मा निर्मार्णाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामिण सडकको अनुगमन गरेका छन् । उक्त सडकलाई राष्टिय योजनामा पार्न महत्वपूर्ण भूमिका खेलेका सभापति खड्काले निर्मार्णाधीन कालोपत्रे सडकको अनुगमन गर्दै, सडकलाई टिकाउ बनाउन पानीको उचित निकास र पहिरो संभावित क्षेत्रमा मजबुत वाल हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सडक सञ्चालन पछि यस क्षेत्रमा विकासको कायापलट हुने बताउँदै अब ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना हुने र यसले यहाँका जनताको जीवनस्तर नै परिवर्तन हुने बताए । युवाहरुलाई ग्रामिण उद्यमशीलतामा जोड दिँदै सभापति खड्काले घार्मी पर्यटकीय क्षेत्र पनि भएकाले यहाँ कृषि उत्पादन सहित पर्यटन केन्द्रित व्यवसाय गर्न सुझाव दिएका छन् । यस क्षेत्रको विकासमा आफ्नो निरन्तर सहयोग रहने बताउँदै उनले बाँकी सडक खण्डको कामलाई पनि छिट्टै सम्पन्न गर्न आवश्यक समन्वय गर्ने स्पष्ट पारेका छन् ।
अनुगमनका क्रममा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले स्थानीय सरकार र उपभोक्ता समितिको निरन्तर पहलले सडक निर्माणले गति लिएको बताए । वडाध्यक्ष पौडेलले भइरहेको काम सन्तोषजनक रहेको बताउँदै तीव्र रुपले काम भइरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरेका छन् । पौडेलले सडक निर्माणमा जनताको पसिना बगेको स्मरण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिए ।
जारी सडक निर्माणका विविध विषयका अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडक उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले सभापति खड्का, वडाध्यक्ष पौडेल सहितको टोलीलाई जानकारी गराएका थिए । टोलीमा नेकपा पोखरा १९ का सचिव निर्मल बास्तोला, नेपाली कांग्रेस पोखरा १९ का सभापति महेश्वर पौडेल, समितिका सचिव डिल्लीराम पौडेल, शिक्षासेवी बैकुण्ठ पौडेल, समाजसेवी रामचन्द्र पौडेल, ऋषिराम पौडेल, पत्रकार प्रकाश अधिकारी, शिशिर पौडेल लगायतका सहभागी थिए ।
पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिब १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जिएसआर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करिब आधा किलोमिटर सडक ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । कालोपत्रे ३ सेन्टी बाक्लो गरिएको छ । चैतमा कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लकडाउनका कारण ६ महिनापछि आएर मात्र काम सुरु गरेको जनाइएको छ ।
भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य सुरु गरेको उपभोक्ता समितिका सचिव पौडेलले जानकारी दिएका छन् । हाल अर्मला बिसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र बाँकी सडक खण्डमा छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले बताए ।
यस अघि जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत व. विश्वकर्माले पनि निरीक्षण गरेका थिए । दसैं मनाउन आफ्नो जन्मथलो घार्मी पुगेका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधीन सडकको अवलोकन गरेका हुन् । वि.स. २०४१ सालबाट त्यस क्षेत्रमा सडक लैजान योजना सुरु भएता पनि विभिन्न अवरोध र बजेट अभावका कारण सडक अलपत्र परेको थियो । ३६ वर्ष पछि बल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।