ललितपुर । ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजारभन्दा बढी नाघेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या ८ हजार ४ सय ६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।
यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको संख्या ५ हजार ९ सय ७६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ४ सय १० पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन् । उनले भने, ‘मुलुकमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएसँगै कन्ट्याक ट्रेसिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौं ।’
ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेर माथिका धेरै संक्रमित संख्या रहनुसँगै ज्यान गुमाउनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको संख्या बढिरहेको गेलालको भनाइ छ ।
कूल संक्रमितमा ७० देखि ८० प्रतिशत दीर्घ रोगका बिरामी रहेका गेलालले बताए ।
‘संक्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन् ।’ उनले थपे, ‘जिल्लाभर संक्रमित संख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र शैयाको भने अभाव हुनेछ ।’ रासस