गन्थन डेस्क
पोखरा । स्थानिय तहको चुनावमा जनताका आवश्यकता पुरा गर्ने अनेकौं सपना दलहरुले बाँडे । धेरै सपना मध्यको एक थियो घर घरमा पानीका धारा अर्थात् ‘एक घर एक धारा’ । उक्त नारालाई निकै महत्वका साथ हेरिएको थियो यसकारण की यसको कार्यन्वयनको पाटो निकै चुनौतिपूर्ण थियो ।
रुपा गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बन्दै गाउँपालिका अध्यक्ष जितेका नवराज ओझा आफ्ना चुनावी प्रतिवद्धता पुरा गरेर छाड्ने बताउँछन् ।
‘चुनावमा गरेका प्रतिवद्धतालाई पुरा गर्ने अभियानमै छु , योजना त्यसै अनुरुप बढेको छ सबै वडामा एक घर एक धारा पुर्याउँछौं’,उनले भने।
शुक्रबार मात्रै गाउँपालिका अध्यक्ष ओझाले वडा नं १ को देउपुरमा एक घर एक धाराको उद्धघाटन गरेका थिए । वर्षौ देखी खानेपानीको अभाव झेल्दै आएका देउपुरबासीले घरमै धाराना पानी आउँदा निकै खुशि देखिन्थ्ये । गाउँपालिकाले खानेपानीका सवै योजनामा मुहान, टंकीसम्म सवै र घर घरमा पाईप पुर्याउने काम गर्दै आएको छ ।
अध्यक्ष ओझा पनि जनताका आवश्यकतालाई पुरा गर्न आफु लागिपरिरहेको बताउँछन् ।
यस्तै शनिवार रुपा-७ एक घर एक धारा अन्तरगत नै पिप्ले खानेपानी आयोजनाको उद्धघाटन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आयोजनाको उद्धघाटन गर्दै विकासका आयोजनालाई सबै वडामा समान किसिमबाट अगाडी बढाइएको बताए ।
‘बाटो , खानेपानी , शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा बिकासका काम धेरै सम्पन्न भए केही हुदैछन् , अब आर्थिक उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने , ‘बाटोघाटो मात्रै हुदैंन हरेक परिवार उत्पादन संग जोडिएर आर्थिक बिकासको बाटोमा पनि अगाडी बढ्नुपर्दछ ।
रुपाका ७ वटै वडामा गाउँपालिका अन्तरगतका ५७ वटा खानेपानी आयोजना सञ्चालनमा रहेका छन् । जसमध्य ५५ वटा सम्पन्न भैसकेका छन् । यस्तै प्रदेश सरकारमा १६ वटा खानेपानी आयोजना मध्य १२ वटा गाउँपालिकाले नै सम्पन्न गराइसकेको अध्यक्ष ओझाले जानकारी दिए । बाँकी ४ वटा भने सम्पन्न हुन बाँकी रहेका छन् ।