तनहुँको व्यास नगरपालिका ११ का सेरावासी टर्कीपालनतर्फ आकर्षित

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । ३ वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ ।

टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिएका छन् । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न सुरु गरेका थिए । यसको मासु प्रतिकिलो १ हजारमा बिक्री हुने गरेको बताइएको छ ।

टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायतका ९ जातका महंगा पक्षीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उनले बताए । ५ वटा खोर खाली छन् । उनले भने, ‘चल्ला ल्याउने स्थानमै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिम रहेकोले ल्याउन नसकिएको हो । सहज परिििस्थ्त भएपछि पुन: पाल्ने योजना बनाएको छु ।’

१ दिने चल्लाको ३ सय ५० देखि ४ सय ५० सम्म मूल्य पर्ने र ६ महिनापछि खाना योग्य हुने उनले बताए । ४ महिनापछि महिनामा २ किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी रहेको छ । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ ।

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले माग अनुरुप पूर्ति गर्न नसकिएको स्थानीय शोभा पौडेलले बताइन् । १ सय टर्की पाल्दा ६ महिनामा झण्डै ४ लाखसम्म कमाउन सकिने किसान पौडेल बताउँछिन् ।

ए ग्रेड जातको टर्की ९ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ । उनले भनिन्, ‘सुरु सुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भइरहेको छ ।’ गाउँ घरमा सबैले टर्की पाल्न सुरु गरेपछि केही महिना अघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताइन् ।

३ महिना अघिदेखि ल्याएर आफूले पहिलो पटक टर्की पाल्न सुरु गरेको उनले जानकारी दिएकी छिन् । उक्त क्षेत्रका १४ घरपरिवारले टर्की पाल्न सुरु गरेका छन् भने अन्य परिवारले टर्की पाल्नको लागि चल्ला माग गरिरहेको किसान पौडेलले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...