२५ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र, विविध कार्यक्रम सहित ढिडो खाने प्रतियोगिता हुने

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म हुन लागेको ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ को तयारी अन्तिर चरणमा पुगेको छ ।

भदौरे क्लबको आयोजनामा हुने महोत्सवको तयार अन्तिम चरणमा पुगेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।

रजत जयन्ती भएकाले पनि महोत्सवलाई भव्य बनाउन लागिएको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । उनका अनुसार महोत्सवमा झाँकी प्रदर्शन, खुला नृत्य प्रतियोगिता, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुद्वारा प्रस्तुती, हास्यव्यङ्य, अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, ७ ए साइड फुटबल प्रतियोगिताका साथमा विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवले ठुलो भूमिका खेलेको हुँदा यसलाई निरन्तरता दिँदै यसपटक रजत जयन्ती भएकाले भव्य बनाउन लागिएको क्लबका पूर्व अध्यक्ष तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कोदोबाट बनाइएको विभिन्न खानाका परिकारको स्वाद लिन सकिने र कोदोको ढिडो खाने प्रतियोगिता महोत्सवको फरक आकर्षण रहेका उनले बताए ।

महोत्सवको मुख्य आकर्षण ७ ए साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टिमले नगद ६० हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भदौरे क्लवका अध्यक्ष अनिल कुमार गुरुङले जानकारी दिए । साथै सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई २०–२० हजार रुपैयाँका दरले सम्मान गरिने उनले बताए ।

महोत्सवको अनुमानित आय २३ लाख रहेको र अनुमानित खर्च २० लाख रहेको क्लबका सचिव दिव्य गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य क्लबका संरक्षक आश बहादुर गुरुङले राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सहसचिव संजोग गुरुङले गरेका थिए ।

पर्यटक आवासको लागि भदौरे गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुच्छ्रे लगाएतका हिमालहरु प्रस्टरुपमा देख्न सकिन्छ ।

कमेन्टहरु
Loading...