भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा ३ हजार १ सय ७५ पुरुष र २ हजार ४ सय २१ महिला गरी कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ सय ९६ जना पुगेको छ ।
त्यसै गरी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण ५ जनाको ज्यान गएको छ ।
छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण बिहीबार साँझ ज्यान गएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा ज्यान गएको डा गौतमले जानकारी दिएका छन् ।
त्यस्तै कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै ज्यान गएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् । भक्तपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको दर समग्र नेपालको दोब्बरभन्दा बढी रहेको उनले बताए ।
कोरोनाबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म संक्रमणबाट ज्यान गुमाउनेको दर १.२३ प्रतिशत रहेको उनको भनाइ छ । त्यसैगरी कोरोना संक्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म २ हजार ८१ पुरुष र १ हजार ६ सय १८ महिला गरी ३ हजार ६ सय ९९ संक्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिएका छन् ।
भक्तपुरमा हाल १ हजार ४७ पुरुष र ७ सय ८१ महिला गरी १ हजार ८ सय २८ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २ सय २२ पुरुष १ सय ३१ महिला गरी ३ सय ५३ अस्पताल लगायतको आइसोलेसनमा तथा ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी १ हजार ७ सय ४७ अर्थात् ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको बताएका छन् । रासस