काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उनीकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । १ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।
पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनीकी धर्मपत्नी, १ सुरक्षाकर्मी, २ चालक र १ कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । रासस