काठमाडौं । पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरिएको हो ।
सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार त्यहाँ झण्डै पाँच सय विरामीलाई कोठा पुग्ने कोठा छन् । कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
देशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या अत्यन्त छिटोछिटो वृद्धि भइरहेकाले थेग्न अहिलेको अस्पतालले नसक्ने भएको उनले जानकारी दिए । त्यसकारण पनि अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागेको उनले बताए ।
अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ । युरो २०१२ फुटबल च्याम्पियनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो ।
त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए । तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्नेबारे अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ ।
गत बसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोना भाइरसको महामारीको असर कम देखिएको थियो । तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।
तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुनसक्ने बताइएको छ ।
पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ । कुल परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।