विष्णु गौतम
अहिले पोखरामा दसैंको परिभाषा र संस्कृति बद्लिएको छ । कुनै समयमा आफूँभन्दा मान्यजनको हातबाट टीका लगाउने र आर्शीवाद लिने चलनमा एउटा कुरा थपिएको छ । त्यो हो च्याङ्ग्रा संस्कृति । अर्थात् पोखरेलीका लागि आजभोलि दसैंं च्याङ्ग्रा खानको लागि आउने गर्छ । पोखराका संस्कृतिकर्मी तीर्थ श्रेष्ठ च्याङ्ग्रा संस्कृतिको बारेमा यकिन मिति थाहा नभए पनि यो चलन अनौठो रहेको घारणा राख्छन् । उनी भन्छन्, ‘अहिले बिना च्याङ्ग्राको दसैं सायद दसैं नै हुँदैन, यो पोखरेलीको प्रतिष्ठासँग जोडिएको छ ।’
प्रतिष्ठा पुरा गर्न अहिलेको दसैंका लागि २० हजार च्याङग्रा पोखरा आउँदै छन् । पोखरा आएकामध्ये ७५ प्रतिशत पोखराको बजारमै खपत हुने गरेको छ भने २० प्रतिशत जति पोखराबाट बसाईं सरेका पोखरेली र पोखरामा च्याङ्ग्रा खान बानी परेका अन्य नेपालीहरु भएका स्थानमा लैजाने गरिन्छ ।
दसैंका बेला पोखरामा करिब ८० करोड बराबरको मासुको कारोबार पोखरामा हुन्छ । जसमा ६० करोडभन्दा बढी त च्याङ्ग्राकै हुने गरेको पोखराका मासु व्यवसायीको तथ्यांक छ । गत वर्ष पोखरामा २० हजारको हाराहारीमा च्याङ्ग्रा पोखरा भित्रिए पनि यो वर्ष त्योभन्दा बढी भित्रने अनुमान पोखरा खसीबोका व्यवसायी संघको छ । यो वर्ष एउटा च्याङ्ग्राको मूल्य पोखरामा ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने व्यवसायीको अनुमान छ ।
कसरी सुरु भयो पोखरामा च्याङ्ग्रा व्यापार
पोखरेलीहरुले कहिलेबाट च्याङग्राको मासु खान सुरु गरे भन्ने बारेमा कुनै ठोस मिति भेटिँदैन । तर तत्कालिन कास्कीका राजा कुलमण्डल (खान) शाहले मुगुल राजावाद शाहलाई खुसी पार्न झारल, घोरल तथा हिमाली च्याङ्ग्राको सुकुटी, लगायतका जडीबुटीसंगै लगेको इतिहास पाइन्छ । उनै मुगल राजा बादशाह खुसी भई कुलमण्डल खानलाई शाह पदवी दिए पछि नेपालको इतिहासको पहिलो शाह राजा बनेका हुन् ।
उनीबाट नेपालमा शाह वंशको सुरुआत भएको पाइन्छ । इतिहास अध्येता ठाकुरप्रसाद त्रिपाठी भन्छन्, ‘यसको ठोस मिति छैन । तर हामीले सुनेको र किंवदन्तीमा सुनिए अनुसार कास्कीका राजाहरुले च्याङ्ग्राको मासु र सुकुटीको प्रयोग गर्ने गरेका थिए ।’
पोखरामा सर्वसाधारणका लागि भने १ सय ५० वर्ष पहिलादेखि च्याङ्ग्राको मासु खान थालिएको अनुमान गरिन्छ । ८२ वर्षीय थकाली संस्कृति अध्येता पूर्णप्रसाद तुलाचनका अनुसार पोखरामा पहिले हिमालपारीको नुन पोखरा ल्याउने र पोखरा आसपासको अन्न हिमाल पारी लैजाने चलनसँगै सर्वसाधारणमा च्याङ्ग्रा खाने चलन सुरु भएको हो ।
‘त्यो बेला हाम्रा पुर्खाले पुस/माघ बढी हिउँ पर्ने समयमा बलिया च्याङ्ग्रामा नुन बोकाएर ल्याउने र पोखरा नुन दिएर धान तथा अन्य अन्न लैजाने गरेका थिए ।’ उनले भने, ‘मौसमका कारण कतिपय च्याङ्ग्रा बिरामी हुने, अनि ती च्याङ्ग्रा फिर्ता नजाने भएकाले हामीलाई कसैले १/२ छाक खान दियो भने वा निकै सस्तोमा ती च्याङ्ग्रा दिएर जान्थ्यौं । जसले गर्दा एकखालको सम्बन्ध जस्तो भयो, अनि थोरै भएपनि व्यापार जस्तो पनि भयो ।’ हिमाली भेगका भोटेजातीले पहाडियाहरुसँग आउँदा जाँदा बनाउने सम्बधलाई इस्ट भन्ने गरिन्छ ।
त्यसो त अध्येता त्रिपाठी पनि तुलाचनको कुरामा समर्थन जनाउँछन् । उनले भने, ‘पोखरा नुन बोकाएर खसी ल्याउने गरीन्थ्यो तिनै ‘नुन बोका खसी‘ खाँदा–खाँदा पोखरेलीहरुलाई बानी पर्न थाल्यो ।’ हिमाल पारीका भेडा, च्याङग्राले हिमालका विभिन्न जडीबुटी लगायत यार्सागुम्बा खाएका हुन्छन् र मासु निकै स्वादिलो तथा स्वस्थ्य हुन्छ भन्ने विश्वासमा पोखरामा च्याङ्ग्रा संसकृतिको व्यापाक प्रयोगमा आएको हो ।
दसैंमा नै किन च्याङ्ग्रा आउन थाल्यो त ?
हिन्दू राज्य भएकाले नवदुर्गा देवीको निकै धुमधामका साथ पुजा गरिन्छ, जुन अहिले पनि चलेको छ । दसैंमा शाकाहारीले पनि सामान्य स्पम देवीको प्रसादको रुपमा मासु खाने गरेको पाइन्छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भन्छन्, ‘हाम्रोतिर च्याङ्ग्रालाई देवीको लागि भोग हालेको त थाहा छैन, तर मासुको रुपमा खाने गरिएको छ । अरु बेलामा नखाए पनि दसैंको मौकामा सबैको घरका मासु खाने चलनले यो बेला मिठो खाने नाममा च्याङ्ग्राको मासु खाने चलन चलेको हो ।’
उनका अनुसार दसैंमा पोखरेलीले २ कुराको लागि च्याङ्ग्रा किन्ने गरेका छन् । पहिलो पोखरेली आफ्ना लागि र दोश्रो बाहिरबाट आउने पाहुनाका लागि । केही समय पहिला पैसा अलि कम हुन्थे, अनि च्याङ्ग्रा पनि बाँडेर खाने चलन थियो खुट्टा हिसाबले (१ खुट्टा बराबर पुरा च्याङ्ग्राको एक चौथाई मासु) । विस्तारै अहिले घरघरम सिंगै काट्ने चलन छ । अनि मौसमका हिसाबले पनि यो मौसम सबैभन्दा राम्रो हुने भएकाले यही सिजनमा च्याङ्ग्रा भेडा पोखरा ल्याउन थालिए ।
बली प्रथा घट्यो मासु खाने चलन बढ्यो
देवीका नाममा बली दिने चलन विस्तारै कम हुँदै गएको छ । तर मासु खानेको संख्या अत्याधिक बढेको छ । पहिला पहिला बली दिए पनि मात्रै देवीको प्रसादका रुपमा मासु खाने चलन थियो । तर आजभोलि मान्छेले बली दिदैनन्, मासु खान्छन् । संस्कृतिकर्मी श्रेष्ठ भन्छन्, ‘हामी युवा हुँदाभन्दा अहिले ९० प्रतिशत बली प्रथा कम भएको छ । तर दसैंमा मासु खानेको संख्या ९९ प्रतिशतले बढेको छ ।’
विभिन्न जनचेतना र संचारमाध्यमका कारण बली दिने चलन कम भए पनि रमाइलोको लागि बिना मासु अनुमान गरिँदैन, त्यसैले मासुको व्यापार बढेको हो र मांशाहारीको संख्यामा वृद्धि भएको होला । उनका अनुसार यो भनेको दसैंंको पोखराको च्याङ्ग्रा संस्कृति हो । अब त दसैं आए नआएको च्याङ्ग्रा पोखरामा आए पछि मात्रै सुरु हुन्छ ।
कहाँ–कहाँबाट ल्याइन्छ च्याङ्ग्रा
पोखरामा आउने च्याङ्ग्रामा सबैभन्दा पहिले तिब्बतवाट आउने गर्ने विस्तारै उनीहरुसँगै मुस्ताङको उच्च हिमाली भेगबाट आउन थाले । अहिले राम्ररी खेती नहुने र बस्ती पनि बस्न नमिल्ने स्थानमा जिवीकोपार्जनका लागि पशु तथा च्याङ्ग्रा पाल्ने गरिन्छ र खाएर बचेको च्याङ्ग्रालाई बेच्ने गरिन्छ । यसरी बेचिने स्थानमा तिब्बती भू–भाग, डोल्पाको उत्तरी भाग, मुस्ताङको लोमाङथाङ, एरा, धारा, चेले, ध्याघर, छुसाङ लगायतका स्थानबाट च्याङ्ग्रा ल्याउने गरिन्छ ।
विशेष गरी डोल्पाका पुरै सेता र अलि ठूला खालका च्याङ्ग्रा हुने गर्छन् भने अन्यत्रका अलि साना र काला तथा अन्य रंगका हुने थकाली संस्कृति अध्यता तुलाचनको भनाई छ । उनका अनुसार डोल्पाभन्दा मुस्ताङ र तिब्बती च्याङ्ग्राको स्वाद मिठो हुन्छ । पोखरामा अहिले तिनै च्याङ्ग्रालाई खोरपाला र नुन बोका भन्ने चलन छ । डोल्पाकालाई नुन बोका र मुस्ताङकालाई खोरपाल भनेर बुझिन्छ ।
पोखरामा कुनै बेला रुकुमका च्याङग्रा ल्याउने गरेका थिए तारा भोटेले । हिमाल तिर बस्ने मानिसलाई भोटे भनिन्छ । कहिले त चाइनिजले समेत खसी च्याङ्ग्रा भेडा लिएर बेच्न आउने गरेका थिए ।
कसरी ल्याइन्छ पोखरामा च्याङ्ग्रा
दसैंं आउनुभन्दा १ देखि डेढ महिना अगाबै च्याङ्ग्रा किन्नकै लागि व्यापारी उपल्लो मुस्ताङ पुग्ने गर्छन् । मुस्ताङको उच्च हिमाली क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि पालिएका च्याङ्ग्रा गोटाका हिसाबले घरघरबाट किनेर १ स्थानमा संकलन गरिन्छ । उच्च हिमाली भेगबाटै चराउँदै मुस्ताङ, म्याग्दी, पर्वत कास्की हुँदै पोखरासम्म ल्याइन्छ । यसरी ल्याउँदा चराउँदै गर्मी हावापानीसँग घुलमिल गराउँदै ल्याइन्छ । करिब ४५ सय मिटरको उचाइको च्याङ्ग्रा १५ सय मिटरमा ल्याउन झण्डै २० दिन लगाउँछन् व्यापारी ।
तापक्रमका कारण हुने समस्या नआओस् भनेर धेरै दिन लगाउने गरेको च्याङ्ग्रा व्यापारी भवत थापा बताउँछन् । उनले भने, ‘पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै २० दिन हिँडाएर ल्याउनुपर्ने बाध्यता छ ।’ बाटोको सुविधा भएपछि मुस्ताङबाटै ट्रकमा ल्याउँदा हुन्छ । तर च्याङग्रा मर्ने सम्भावना अत्याधिक हुन्छ । त्यसो त कतिपयले त आफैं गाउँमा संकलन गरेर गाउँमा–गाउँमा बिक्री गर्दै कति गाउँमा अर्को फेरि आउने र पैसा लैजाने गरि खसी च्याङग्रा बेचेर पछि पैसा उठाउन आएको आफूले देखेको इतिहास अध्येता त्रिपाठी बताउँछन् ।
अहिले कसरी बेचिन्छ च्याङ्ग्रा
अहिले समय फेरिएको छ । घटस्थापनादेखि फुलपाती र नवमीसम्म बिक्री नभएका खसी च्याङग्रा कोहीले त तिहारसम्म पनि बिक्री गर्न बस्ने गरेका छन् । यसरी बिक्री गर्दा कहिले नाफा कहिले घाटा खाएर पनि बिक्री गर्थे । तर, किनकी उनीहरु जाडो छल्नको यहाँसम्म बिक्रीको माध्यमबाट नै आउने प्रचलन छ, त्यो हामीले आजभोलि पनि देख्न सक्छौं ।
सुरुसुरुमा सकेसम्मको बढी रेटमा बेच्ने र अन्तिम अवस्थामा जति मूल्यमा पनि सक्ने परिपाठी छ । त्यसैले यो परिपाठीलाई इतिहास अध्येता तुलाचन जुवा व्यापार भन्छन् । उनी भन्छन्, ‘हामीले गर्ने च्याङ्ग्रा व्यापार जुवा जस्तै हो, सुरु सुरुमा महंगोमा बेच्यो, अन्तिममा जतिमा पाइन्छ त्यतिमै दियो हिँड्यो । घाटा प¥यो भनेर फिर्ता लैजाने चलन हुँदैन ।’