खेल टिप्पणीः बाघ बुढो हुन्छ तर घाँस खाँदैन

युएइमा जारी तेह्रौं सिजनको ७ खेलसम्म बेञ्चमै रहेका वेस्ट इञ्डिजका ब्याट्सम्यान क्रिस गेलले बिहीबार राति आठौं खेलमा मौका पाए ।

 

किंग्स इलेभेन पञ्जाबमा अनुबन्धित खेलाडी लामो प्रहार गर्ने खेलाडीकारुपमा चिनिन्छन् । तर उनै गेलले आठौं खेलमा बल्ल रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध उत्रने मौका पाए । गेलले पाएको अवसरमा केवल खेल्नुमामात्रै सिमित थिएन । आइपिएलमा रहेका घांघडान ब्याट्सम्यानसामु आफुलाई प्रमाणित गर्नु पनि थियो ।

 

तेस्रो नम्बरमा क्रिजमा आएका गेलले अन्ततः ४५ बलको सामना गर्दै ५३ रनको अद्र्धशतक पुरा गरी आफुलाई प्रमाणित गरेरै छाडे । अद्र्धशतकपछि अभिवादन गर्ने क्रममा गेलले आफ्नो ब्याटमा रहेको स्टिकर ‘दी बोस’ देखाउँदै आफु अझै क्रिकेटको ‘बाघ’ रहेको सन्देश दिए ।

 

अंकतालिकाको पुछारमा रहेको पञ्जाबले गेलको अद्र्धशतकको मद्धतले खेलमात्रै जितेन, २ अंक जोड्न सफलसमेत भयो । उक्त खेलमा पञ्जाबले बैंग्लोरविरुद्ध ८ विकेटको जीत हासिल ग¥यो ।

 

जीतसँगै अब गेलले टिम मैदानमा खेलिरहँदा पहिले झै पुनः बेञ्चमा दर्शक बनेर बस्नुपर्ने सम्भावनालई पनि टारेको छ । फलतः अबको बाँकी खेलमा पञ्जाबबाट पहिलो रोजाईको खेलाडीमा पर्ने छन् भने टिमले आफुलाई सेमिफाइनलको समीकरणमा हिसाबकिताब गर्ने सम्भावना पनि देखेको छ ।

 

विश्वमै बढी चर्चा कमाउन सफल ट्वान्टी–ट्वान्टी क्रिकेटमा हरेक वर्ष विभिन्न देशमा हुने प्रतियोगिताबाट थुप्रै नयाँ खेलाडी जन्मिन्छन् । पुराना र स्टार खेलाडीको चुनौति भनेकै नयाँ खेलाडीसँग प्रतिष्पर्धा गर्दै टिममा पर्नु हो । अर्थात् आफुलाई बिक्री गराउनु हो । यसरी नै बिक्रीको मामलामा गेल पछिल्लो समय आफुलाई कम मूल्यमा राख्न बाध्य भएका छन् ।

 

पुरानो नाम र धाकले मात्रै बिकाउन नसकिने बेला उनको उमेर नै ४१ वर्ष पुगिसक्यो । यो उमेरमा धेरै क्रिकेट खेलाडीले सन्यास लिइसकेका छन् । खैर, बिहीबार रातिको खेलबाट गेलले आफुलाई आइपीएलमा ‘कमब्याक’ गरेको पुष्टि गरे ।

 

इनिङमा उनले १ चौका र ५ छक्का प्रहार गर्दा आफुमा ‘स्किल’ र ‘पावर’ भएको प्रमाणित पनि गरे । र, अद्र्धशतकपछि ब्याट देखाउँदै विश्व क्रिकेटलाई उनले मनमनै भने होलान् ‘क्रिस गेल बुढो भएपनि बाघ हो, बाघले घाँस खाँदैन ।’

कमेन्टहरु
Loading...