तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब १ हजार २ सय मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए । हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनले बताए ।
आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको सुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताए । यस वडामा करिब ३ हजार जनसंख्या रहेका छन् ।
वडाध्यक्ष गुरुङले भने, ‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।’ उक्त क्षेत्रमा विद्युतका पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उनले भने, ‘सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।’
सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दसैंपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताएका छन् । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भने, ‘सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।’
जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिएका छन् ।
बुल्दीखोला पुलको रेलिङ भाँच्चिदा जोखिम
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको व्यासनगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँच्चिदा उच्च जोखिम बनेको छ । पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केही रेलिङ भाँच्चिएपछि उच्च जोखिम बनेको हो ।
भाँच्चिएका रेलिङ समयमा मर्मत नहुँदा गत भदौ १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको खुट्टा भाँच्चिएको थियो । बेवारिसे भएको उनको स्थानीयवासीले आर्थिक संकलन गरेर पोखरा लगि उपचारपश्चात घर फर्किएका छन् । व्यासनगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रकम संकलन गरी उनको उपचार गरिएको हो ।
त्यसैगरी यही असोज २८ गते साँझ पुनः १ जना सोही पुलको रेलिङ नभएको स्थानबाट खसेर घाइते भएका छन् । बागलुङमा ज्यालामजदुरी गर्दै आएका कटारी नगरपालिका–९ भोर्लाका ३७ वर्षीय प्रेम रोका पुलबाट खसेर सख्त घाइते भएका छन् ।
बागलुङबाट दमौली झरेर पैदल हिँडेर घर जाने क्रममा खस्दा घाइते भएका हुन् । उनको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पुलको रेलिङ जीर्ण र भाँच्चिएर खतरा बन्दै गएपछि उक्त रेलिङ मर्मतसम्भार तत्काल गर्न लागिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमितकुमार श्रेष्ठले बताए ।
उक्त पुल हुँदै दैनिक विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण आवतजावत गर्दैै आएका छन् । मानिस साँझबिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मतसम्भारको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । दसैंअगावै उक्त पुलको रेलिङ मर्मतसम्भार कार्य गरी सहजरूपमा यात्रा गर्ने व्यवस्था मिलाइने उनले बताएका छन् । रासस