काठमाडौं । उत्तर कोरियाले सत्तारुढ वर्कर्स पार्टीको ७५ औँ वर्षगाँठको अवसरमा दुर्लभ सैन्य परेड गरेको छ । नेता किम जोङ–उनको उपस्थितिमा शनिबार उज्यालो हुनुपूर्व उत्तर कोरियाले रातिको समयमा दुर्लभ सैन्य परेड गरेको हो ।
उत्तर कोरियाले यस्ता परेडहरु नयाँ मिसाइल तथा शस्त्र क्षमता प्रदर्शनका लागि गर्ने गरेको छ । सैन्य परेडमा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको विशेषज्ञले बताएका छन् ।
उत्तर कोरियाले पछिल्लो दुई वर्षमा पहिलोपटक सैन्य परेड गरेको हो । अमेरिकामा राष्ट्रपति चुनाव हुन केही हप्ता मात्रै बाँकी रहेका बेला भएको परेडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबिच भएको पहिलो भेटवार्तापछि उत्तर कोरियाले सैन्य परेडमा ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको थिएन । दक्षिण कोरियाको सेनाका अनुसार शनिबार उज्यालो हुनु पूर्व परेड भएको बताएको छ ।
तर त्यो बेला परेड गर्नुको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । परेडमा विदेशी सञ्चारमाध्यम तथा विदेशीहरुलाई सहभागी हुन दिइएको थिएन ।