पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहकारीमा गरिएको लगानीे उत्पादन मुलक क्षेत्रमा केन्द्रित हुनु पर्ने बताएका छन् । पोखरा १४ स्वागत नगरमा रहेको एकता बचत तथा ऋण सहकारी सस्थाको ९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले राज्य सञ्चालनमा मुख्य ३ आर्थिक खम्बामध्ये सहकारी संस्थाको महत्वपूर्ण स्थान रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले सहकारीले सहकारीका सिद्धान्त अनुसार काम गर्नुपर्ने बताए । साथै उनले सहकारीहरुले नगद संकलनलाई मात्र मुख्य आधार नबनाएर जम्मा भएको लगानीलाई रोजगारीमा परिणत गराउनुपर्ने बताए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँघरका उत्पादनहरुमा सहकारीले लगानी बढाउन आग्रह गरेका छन् । कोभिड १९ संक्रमणका कारण छोटो रुपमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष बालसिंह काउचा मगरले अध्यक्ष, कोषाध्यक्ष लगाएतको प्रतिवेदन सारांसमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी वर्ष भरी उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा सहायक व्यवस्थापक अम्बिका कार्की, पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा सहयोग गरेबापत् फेवा टेलिभिजनका समाचार प्रमुख पुष्प दाहाल तथा फिलिपिन्सबाट एमडी सकेर फर्किएकी सेयर सदस्यकी छोरी दिपालक्ष्मी थापालाई नगद सहित सम्मान गरिएको छ ।
हाल ३ हजार ७ सय ३७ सेयर सदस्य रहेको सहकारी संस्था कास्कीमा मात्रै सीमित भएकाले प्रदेश स्थरीय बनाउन पहल गरिने अध्यक्ष काउचामगरले बताए । सहकारीका उपाध्यक्ष नवराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमको सञ्चालन सचिव सुर्दशन पौडेलले गरेका थिए ।