पोखरा । पाल्पाको निस्दी गाउँपालिका तथा मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा शुक्रबार रातिबाट लागु हुने गरेर कार्तिक १ गते राति १२ बजेसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत तथा केही कर्मचारीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भए पछि गाउँपालिकाले विज्ञप्ति जारी गर्दै गाउँपालिका तथा मातहतका कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले ५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा १० जनाको रिर्पोट पोजेटिभ आएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण समेत नदेखिएको बताइएको छ ।
गाउँपालिकामा रहेका होटल तथा अन्य व्यवसाय, निजी तथा सार्वजनिक सवारी साधन, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थाहरु लगायत पूर्णरुपमा बन्द गरिएको छ । गाउँपालिकामा अत्यावश्क सेवा एम्बुलेन्स सहित स्वास्थ्य संस्था तथा खाद्यान्न पसल नियम अनुसार सञ्चालन हुने छन् ।
गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य संस्थाहरुमा इमरजेन्सी बाहेकका सबै सेवा बन्द हुने छन् । खाद्यान्न पसलहरु बिहान ६ बजेबाट बिहानको ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । पसल सञ्चालनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने छ ।
त्यस्तै खाद्यान्न ढुवानी गर्नुपरेमा गाउँपालिका कार्यालयको अनुमति लिएर निर्धारित समयमा मात्र ढुवानी गर्नुपर्ने छ । एम्बुलेन्स सेवा भने २४ घण्टा नै सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।