ऋषिकान्त पौडेल
सामान्यतयः तपाईको घरमा बिजुलीको महशुल कति आउँछ ? सामान्य ४ जना सदस्य रहेको परिवारमा २ देखि ३ सय युनिट बिद्युत खपत हुन्छ ।
सिङ्गल फेज अर्थात तल्लो भोल्ट लिने ग्राहस्थ वर्गलाई २ सय ५० युनिटसम्मको विद्युत प्राधिकरणले लिने महशुल प्रति युनिट ११ रुपैयाँ हो । यो हिसाबले अधिकतम मासिक २ हजार ७ सय ५० रुपैयाँ आउँछ ।
तर पोखरा–३०, खुदीमा भने एक सेवाग्राहीको विद्युत महशुल १८ दिनकै १ लाख ३३ हजार ४ सय २६ रुपैयाँ निस्केको छ ।
अघिल्लो सेप्टेम्बर २२ गते नियमानुसार एक हजार ९ सय ६८ रुपैयाँ बिद्युत महशुल भुक्तानी गरेका सेवाग्राही नारायणप्रसाद पौडेललाई प्राधिकरणको लेखनाथ वितरण केन्द्रले १८ दिनको खपत युनिट ११ हजार निकालेको हो ।
गत मंगलबार राती पौडेलको घरमा रहेको मिटर बक्समा अचानक आगो लाग्यो । पौडेलले तत्काल प्राधिकरणको लेखनाथ शाखामा खबर गरेपनि भोलीपल्ट बिहान मात्रै कर्मचारीले लाईन छुटाए । मिटरबक्स जलेर ध्वस्त भएपछि पुनः अर्को मिटरबक्स जडान गरी घरमा बिद्युत सुचारु गर्न जब पौडेलका भाई ईन्द्रप्रसाद पौडेल कार्यालय पुगे तब झसङ्ग बने । कारण १८ दिनको महशुल करीब डेढ लाख रुपैयाँ मागियो ।
आफ्नो घरको विद्युत महशुल त्यत्रो आउनै नसक्ने भन्दै पौडेलले कार्यालयका कर्मचारीलाई यथावस्थामा मिटरबक्स पुनःजडानका लागि निवेदन पेश गरे तर कर्मचारीबाट महशुल भुक्तानी नगरी बाँकी काम गर्न नसक्ने जवाफ पाए ।
‘मेरो घरको सिङ्गल फेज लाईन हो, कहिल्यै पनि महिनाको ३ सय युनिट उठेको छैन र त्यसै अनुरुप महशुल नियमित बुझाएको छु’, पौडेलले स्पष्ट पारे । तर दिनकै करीब १ हजार युनिट विद्युत खपत भएको बिल आउँदा प्राधिकरणबाट लापरवाही भएको पनि उनले आशंका गरे । ‘विद्युत प्राधिकरणले लापरवाही गर्छ भन्ने त सुनेको हो तर आज सप्रमाण पुष्टि भएको छ, यसको जवाफदेही को हुने ?’ पौडेलको आक्रोश ब्यक्त गरे ।
यता प्राधिकरणका लेखनाथ वितरण केन्द्रका प्रमुख नविनकुमार लाभले भने मानवीय घटनाका बारेमा छानबिन सुरु गर्ने बताए । उनले मानवीय त्रुटिका कारण पनि यस्तो हुन सक्ने प्रतिक्रिया दिए ।
‘मानवीय त्रुटि कहिलेकाँही हुन सक्छ नि, सुरु देखि नै मिटर रिडिङमा छुटेको पनि हुन सक्छ त्यस्तै पाँच युनिट लेख्नुपर्नेमा ४ युनिट टिपेको पनि हुन सक्छ’, मिटर रिडरलाई दोष थुपार्दै उनले भने ।