भारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कुल संक्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल संक्रमित मध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म १ लाख ४ हजार ५ सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९ सय ८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । भारतमा अहिले पनि ९ लाख ७ हजार ८ सय ८३ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् ।

प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ । रासस

कमेन्टहरु
Loading...