ललितपुरमा ३ हजार कोरोना संक्रमित

काठमाडौं । ललितपुरमा कोरोना संक्रमितको संख्या ३ हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३ रहेको छ ।

यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्यांकमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्यांक पाइएको हुँदा कुल संक्रमितको संख्यामा केही फरक देखिएको हो ।’ त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिएका छन् ।

ललितपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ८८, सक्रिय संक्रमित ८ सय ७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । उनले भने, ‘सक्रिय संक्रमितमध्ये ८ सय १२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।’

गोदावरी नगरपालिकामा संक्रमित संख्या २ सय ३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १ सय ३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा ६ र मृतकको संख्या ३ रहेको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा संक्रमित संख्या ४ सय ८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ सय ३५ र मृतक २ रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, ‘सक्रिय संक्रमित १ सय ७१ मध्ये २२ अस्पताल र १ सय ४९ होम आइसोलेसनमा रहेका छन् ।’ त्यस्तै महांकाल गाउँपालिकामा संक्रमित संख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७ रहेका छन् भने १ जना अस्पताल र ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताएका छन् ।

कोञ्ज्योसोम गाउँपालिकामा पनि कुल संक्रमित संख्या १२ पुगेको छ । तीमध्ये ४ सक्रिय र बाँकी ८ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए । वाग्मती गाउँपालिकामा १२ संक्रमितमध्ये होम क्वारेन्टिनमा ५ र कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७ रहेको संयोजक नवराज तिमिल्सिनाले बताए ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बिएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २ सय २१ आइसोलेसन र ४ सय ८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...