पोखरा । पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप ६ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, वडा नम्बर ८ का ३३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १७ का ५० वर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखराका सबै संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ६ का २६ वर्षी पुरुष हुन् । संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यता तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय तथा देवघाट ५ का ३८ वर्षीय महिला हुन् । ब्यास नगरपालिकाका संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ११ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गैंडाकोट, मध्यविन्दु तथा कावासोतीका हुन् । संक्रमित सबै सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।
गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सिरानचोक ३ का २२ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय ६४ पुगेको छ ।