गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । गोरखा तथा नवलपरासीका १÷१ जनाको पछिल्लो पटक कोरोना संक्रमणबाट ज्यान गएको हो ।

गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् ।

यता नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ३ बजेर ४५ मिनेट जाँदा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

पिसाब तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आइसियुमा उपचार भइरहेको थियो । उपचारका लागि उनी असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनको श्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३६ पुगेको छ । त्यस्तै प्रदेशमा हालसम्म ३ हजार ४७ जना निको भएका छन् ।

यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित नगरपालिका अन्तरगत वडा नम्बर २ की ७० वर्षीय महिला तथा ३ का २३ वर्षीय पुरुष रहेका छन् ।

संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

यस्तै नवलपरासी (ब.सु.पू) का २ जनालाई संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा जिल्लाका २ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित देवचुलीकी ७० वर्षीय महिला तथा कावासोतीका ४८ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

अहिले संक्रमितहरु सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय ४३ पुगेको छ ।

कमेन्टहरु
Loading...