फाइल तस्बिरः मेखलाल श्रेष्ठ
दिपक के श्रेष्ठ
गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले नयाँ व्यवस्थामा नेतृत्वहरु राणाजीको शैलीमा अघि बढेको र सामन्तजस्तै जी, हजुरीमा रमाएको भन्दै कटाक्ष गरेका छन् ।
आइतबार पोखराको नदीपुरस्थित प्रदेश सभाको बैठकमा स्याङ्जाका प्रदेशसभा सदस्य श्रेष्ठले ८ मिनेट समय लिएर उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साललाई उक्त कटाक्ष गरेका हुन् । आफ्नो क्षेत्रमा विकास र योजनाहरु माग्दा त्यहाँका जनतालाई मन्त्री लम्सालले आफुलाई प्रमुख अतिथि नबनाउने तर विकास माग्ने भन्दै दिएको जवाफमा सदस्य श्रेष्ठले आपत्ति जनाएका हुन् ।
‘योजना मागेर मात्रै पाइन्छ, तपाइहरुले मलाई चिफ गेष्ट बनाउँदै बनाउनु हुँदैन’ जस्ता गैरजिम्मेवार जवाफले लोकतन्त्रमा राजा, महाराजा शैली बिस्तारै बढ्न थालेको श्रेष्ठले सुनाए । मन्त्रीको यस्तो भनाई प्रति श्रेष्ठले ‘यही हो लोकतन्त्र ? यही हो संघीयता ? यही हो जनताको अधिकार ? भन्दै प्रश्न राखे । ‘हामीले ल्याएको लोकतन्त्र कसैलाई सामन्त बन्नलाई, कसैलाई शासक र जनतालाई सेवक बन्न ल्याइएको त हैन ?’ उनले थपे ‘यसले प्रदेश सरकार र संघीयतालाई असफल बनाउने त हैन ?’
बैठकमा धारणा राख्ने क्रममा श्रेष्ठले वन मन्त्रालयमा ३ करोड रुपैयाँ बेरुजु रहेकोतर्फ संकेत गरे । मन्त्री लम्सालले मन्त्रालयमा परामर्शको नाममा छुट्याएको ३ करोड रुपैयाँ महालेखा परीक्षकको कार्यालये बेरुजु देखाएकाले त्यसको जवाफ संसदमा गोलमटोल तरिकाले दिएको प्रति उनले आपत्ति जनाए । वन पैदावरको क्षेत्रमा योजना नबनाउने, राजश्व संकलन हुने विषयमा ध्यान नदिने तर सम्मानको भोक देखाउने मन्त्री लम्सालको कार्यशैली सरकारको दायित्व विपरित भएको उनले उल्लेख गरे ।
मन्त्रीले कहाँ पहुँच देखाउन पाइन्छ र कहाँ सम्मान थाप्न पाइन्छ भन्दै हिँड्दा संघीयताको मर्म विपरित भएको उनको कथन थियो । लम्सालको काम गराइले प्रदेश सरकार र माननीय नै असफल हुनसक्ने उनले औंल्याए ।
सोही प्रसंगमा चाडवाड नजिकिएको र व्यापारीहरुले विधिव सामान लुकाएर कालोबजारी गर्न सुरु गरेको भन्दै उनले संसदको ध्यानाकर्षण गराए । गण्डकी क्षेत्रमा पनि म्याद गुज्रेका सामानहरु नयाँ मिति राखेर भित्रिएको हुनसक्ने आशंका गर्दै उनले ‘मन्त्री भने अनुगमनको सट्टा आफ्नो कुर्सी कसरी जोगाउन सकिन्छ भन्ने कसरतमा लागेको’ भनाई राखे । जनता रोग, भोकबाट आजित भएको बेलामा मन्त्री ऐश, आराममा लागेको भन्दै उनले आलोचना गरे ।