झापामा थप १ कोरोना संक्रमितको मृत्यु

झापा । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना संक्रमणका कारण १ वृद्धको मृत्यु भएको छ । ८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले जानकारी दिएका छन् ।

दमका रोगी उनीलाई ४ दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उनका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो ।

आइतबार बिहान ९ बजे उनको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिएका छन् । झापामा उनीसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने संक्रमितको संख्या ९ सय ३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईंले बताए का छन् । रासस

कमेन्टहरु
Loading...