सीपले जगाएको आत्मविश्वास

पोखरा । कास्की माछापुच्छ«े गाउँपालिका २ का २९ वर्षीय कर्णबहादुर तामाङ अब विदेश नजाने सोचमा छन् । कोरोना कहरको केही महिनाअघि वैदेशिक रोजगारबाट नेपाल आएका तामाङ अहिले व्यावसायिक सीप सिकेर नेपालमै कुनै व्यवसाय गर्ने सोचमा छन् । जोर्डनको १ गार्मेन्ट कम्पनीमा ३ वर्ष बिताएको अनुभव सुनाउँदै तामाङ भन्छन्, ‘जति पसिना बगाए पनि विदेशको धनले खुसी दिन सकेन, अब आफ्नै गाउँठाउँमा परिवारको साथ केही गर्ने सोच बनाएको छु ।’ कोरोना कहर अघि प्राविधिक शिक्षालय (सिटिइभिटी) फूलबारी पोखराले व्यावसायिक शिक्षाका लागि आवेदन माग गरेको थाहा पाएर फर्म भरेका तामाङ छनोटमा परेपछि तालिम लिन थालेका थिए ।

६५ दिने निःशुल्क बेकरी तालिममा सिक्दै गर्दा कोरोनाको महामारीले कोर्ष पूरा गर्न नपाएको दुःखेसो उनले पोखे । ‘सिक्दासिक्दै बीचमा छोड्नु प¥यो, प्राविधिक शिक्षालयबाट पनि केही खबर आएको छैन, कोर्ष पूरा गरेपछि बेकरी सञ्चालन गर्ने तयारीमा छु ।’ तामाङले भने ।

केही वर्षअघि पोखराकै प्राविधिक शिक्षालयबाट छोटो समयको बेटर कुकिङ तालिम लिएकी पोखराकी २१ वर्षीय सफलता अर्याल अहिले आफ्नै व्यवसायको मालिक बनेकी छिन् । १ वर्ष चीनका विभिन्न होटलमा कुकिङसम्बन्धी अनुभव हासिल गरेपछि उनलाई नेपालमा नै केही गरांै भन्ने ऊर्जा मिलेको हो । उनी भन्छिन्, ‘मैले सुरुमा पोखरामा सिटिइभिटीमा निःशुल्क ६ महिने बेटर र कुकिङ तालिम सिकें, पोखराको लेकसाइडमा डेढ वर्ष जागिर गरें, थप अनुभवका लागि १ वर्ष चीन गएर अझै अनुभव बटुलें, यसले मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा दियो ।’

१ वर्षअघि मात्र नेपाल आएकी अर्यालले सिकेको सीप र अनुभवलाई अब नेपालकै माटोमा लगानी गर्ने सोचअनुरुप लेखनाथमा ‘सक्सेस बेकरी’ सञ्चालनमा ल्याएका छन् । हरेक युवाको हातमा प्राविधिक र व्यावसायिक सीप हुने हो भने पैसा कमाउनको लागि विदेश नै जानुपर्छ भन्ने सोच हट्दै जाने उनको विश्वास छ ।

दुबईको विजनेस क्लास लाउन्जमा झण्डै ८ वर्ष काम गरेर स्वदेश फर्किएका विराटनगरका ४१ वर्षीय सूर्य अधिकारी पनि अहिले व्यावसायिक तालिम सिकेर स्वरोजगार बनेका छन् । विदेशबाट आएपछि उनले पोखराको चिप्लेढुंगास्थित कान्तिपुर होटल ट्रेनिङ सेन्टरबाट १ महिनाको कुकसम्बन्धी तालिम लिए । ‘छोटो समयको तालिमले मलाई आत्मविश्वास बढायो र व्यवसाय सञ्चालन गरें ।’ अधिकारीले भने ।

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १३ मा करिब १५ लाखको लगानीमा उनले अरबिका विन्स कफी हाउस सञ्चालन गरेका छन् । व्यावसायिक तालिम सिके ५० देखि १ लाख कमाउन खाडी वा मलेसिया जान नपर्ने उनको अनुभव छ । देशभित्रै प्रशस्त सम्भावना भए पनि सही बाटो पत्ता लगाउन नसक्दा थुप्रै युवा विदेश भौंतारिनु परेको सुनाउँदै राज्यले युवालाई देशभित्र केही गर्ने वातावरणको लागि सहजीकरण गरिदिनुपर्ने बताउँछन् ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा दक्ष जनशक्तिको उत्पादन गरेर व्यवसायमा जोड दिन सके विकासले गति लिन तर्क गर्छन् पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ । ‘प्राविधिक शिक्षाको महत्व बुझ्न नसक्दा विदेशमा धेरै नेपाली युवाले दःुख पाएका छन् । हातमा सीप हुने हो भने हरेक युवामा केही गरौं भन्ने भावना आउँछ, त्यसैले विद्यालयदेखि नै प्राविधिक र व्यावसायिक शिक्षाको बारेमा जानकारी दिन आवश्यक छ ।’

उनले पछिल्ला वर्षमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति युवाको चासो बढ्दै गए पनि अझै पर्याप्त नभएको बताए । ‘पहिलापहिला प्राविधिक तथा व्यावसायिक पढाइप्रति युवाको उति रुचि थिएन, अभिभावक छोराछोरीलाई विदेश नै जाऊन् भन्ने चाहना राख्थे । तर अब प्राविधिक र व्यावसायिक ज्ञान नै महत्वपूर्ण रहेछ भन्ने बुझाइको विकास हुँदै छ, युवालाई यस शिक्षाप्रति रुचि बढ्न थालेको छ ।’ उनी भन्छन् । यसप्रकारको तालिम हासिल गरेका युवा बेरोजगार हुने सम्भावना कम हुने उल्लेख गर्दै श्रेष्ठ यसको महत्वलाई अझै सशक्त रुपमा सबैको पहुँचमा पु¥याउनुपर्ने बताउँछन् ।

पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीन वर्षे होटल व्यवस्थापनअन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क, फुड एण्ड वेभरेजमा पढाइ हुने गर्छ । होटल व्यवस्थापनमा (४० जना) ३ वर्षे प्रमाणपत्र तह अप्थाल्मिकमा (४० जना) र १८ महिने प्रि–डिप्लोमा इन कुलिनरी आर्ट (कुकिङ बेकिङ) २० जनाको कोटा छ । यो सँगै व्यावसायिक तालिम अन्तर्गत छोटो समयका सिलाइकटाइ, बुटिक, ब्यूटिपार्लरलगायतका तालिम सञ्चालन हुँदै आएका छन् ।

शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेर आरक्षण कोटा छुट्याइएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त पोखरामा मात्र फार्मेसी २, डेण्टल १, इन्जिनीयरिङ १, रेडियोलोजी १ र नर्सिङ ६ वटा छन् भने निजीस्तरबाट छोटो समयका तालिम प्रदायक संस्था २ दर्जनभन्दा बढी छन् ।

त्यसैगरी विदेशिने युवालाई स्वदेशमै रोजगार दिने उद्देश्य गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले संघ, प्रदेश, स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने गरी साढे १० करोडको बजेट विनियोजन गरेको प्रदेश मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएका, स्वदेशमै अवसरको खोजी गरिरहेकालाई व्यावसायिक सीपमूलक तालिम प्रदान गर्ने पहल भएको बताए ।

उनका अनुसार हामीले अहिले स्थानीय तहसँग यस विषयमा भर्चुअल अन्तरक्रिया गरिएको छ । स्थनीय तहमा कति युवा बेरोजगार छन्, कस्तो तालिमले उनीहरुलाई स्वरोजगार बनाउन सक्छ त्यस विषयमा प्रदेश नीति तथा योजना आयोगबाट पनि प्रारम्भिक अध्ययन भइरहेको छ । उनले छिट्टै मागअनुसारको तालिम सञ्चालन हुने जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...