महानगर न्यायिक समितिको निर्णयलाई टेरपुच्छर लगाएनन् छिमेकीले

रिना थापा

गत वर्ष साउनमा पोखरा महानगरपालिका वडा नम्बर २० भलाम  घर भएका बुद्धिबहादुर अधिकारीले ‘आफ्नो घरछेउमा असर परेको रुख काटी पाउ’ भनि पोखरा महानगरको न्यायिक समितिमा उजुरी हाले । न्यायिक समितिले पनि उनको उजुरी र स्थानको स्थलगत अवलोकन गर्दै उनलाई मर्कामा नपार्ने गरी निर्णय सुनायो । तर वर्ष दिन बितिसक्दा पनि समितिले गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

 

अधिकारीले पश्चिमतर्फ चेतबहादुर खत्री र प्रकाश पौडेलको जग्गामा भएको रुखले बालीनालीमा असर पर्ने र बाँसहरुले हावाहुरीको समयमा असर पु¥याएको भन्दै निवेदन पेश गरेका हुन् । उनले यस अघि २०७५ मंसिर २० गते पनि वडा कार्यालयमा रुख काटी पाऊँ भनेर निवेदन पेश गरेका थिए ।

 

यता विपक्षले निवेदकको कुरा झुठो रहेको दावी गर्दै दुवैले छुट्टाछुट्टै लिखित जवाफ दिएका थिए । ‘व्यक्ति विशेषले सार्वजनिक सम्पत्ति आफ्नो बनाउने प्रयास गरेका छन् । निवेदकले दाबी गरेको जग्गा विषय कानुन सम्मत नरहेको’ भन्दै दोस्रो पक्षले खारेज गर्न माग गरेका थिए ।

 

तर न्यायिक समितिले गत वर्षको साउनमा सोही स्थानमा स्थलगत अध्ययन, अवलोकन गरेर दुबै पक्षलाई सहमतिमा फैसला सुनायो । साउन ४ गते अवलोकन पश्चात् मञ्जुदेवी गुरुङको संयोजकत्वमा न्यायिक समितिको इजलासमा विवादको फैसला सुनाएको थियो ।

 

‘दोस्रो पक्षका प्रकाश पौडेलको जग्गामा रहेको बाँसले सार्वजनिक बाटो तथा निवेदक अधिकारीको हावाहुरीको मौसममा जोखिम देखिएकाले रुख छाँटकाँट गरी व्यवस्थापन गर्नुपर्ने’ भनि निर्णय सुनाएको थियो । निर्णयमा पूर्वतर्फका ६ वटा चिलाउनेका रुखहरुले निवेदकको घरमा जोखिम ल्याउने हुनाले काट्नुपर्ने भनिएको थियो । तर सम्बिन्धत दोस्रो पक्षले भने १ वर्ष बितिसक्दा समेत समितिको निर्णयलाई पालना गरेनन् भन्दै निवेदकले पुन उजुरी दिए ।

 

उनले यही साउन २९ गते समितिको फैसला कार्यान्वयन नहुँदा कार्यान्वयन गरिदिन अनुरोध गर्दै निवेदन दिए । त्यस्तै, उनले यसअघि पनि वडा कार्यालय कार्यन्वयन सम्बन्धमा बारम्बार आग्रह गरेका थिए ।

 

यता महानगरको न्यायिक समितिले फैसला कार्यान्वयन गर्न यहीं असोज १६ गते अन्तिम पत्राचार गरेको छ । न्यायिक समितिका अभिलेख संरक्षक तथा कानुन अधिकृतका अनुसार आफूहरुले फैसला कार्यान्वयन गराउन अन्तिम पत्राचर गरेको जानकारी दिए । ‘यो अन्तिम पत्राचार हो, यति गर्दा पनि कार्यान्वयन नभए हामी महानगरको नगर प्रहरी र प्राविधिक पठाएर फैसला कार्यान्वयन गराउँछौं’ उनले भने । उनका अनुसार समितिले पटक–पटक ताकेता गर्दा पनि दोस्रो पक्षको अटेरीले गर्दा समस्या समाधान नभएको हो ।

 

यता महानगरकी उपमेयर तथा न्यायिक समितिकी संयोजक मञ्जुदेवी गुरुङ आपसी मतभेद र रिसइबीले फैसला कार्यान्वयन नभएको बताउँछिन् । ‘त्यहाँ दुबै पक्षको आफ्नो व्यक्तिगत मामिला रहेछ, हामीले त कार्यान्वयन गर्न दोस्रो पक्षलाई बारम्बार भनिरहेका छौं’ संयोजक गुरुङले भनिन्, ‘निवदेकको पुन गुनासो आइसकेपछि वडा अध्यक्ष खटाएर पत्राचार गरिरहेका थियौं । अब म स्वयं नै अवलोकन गर्न जान्छु ।’

 

यता निवेदक अधिकारी भने महानगरले यस विषयमा चासो नराखेको गुनासो गर्छन् । ‘मैले तारन्तार समितिमा भनिरहँदा र निवेदन दिँदा समेत उहाँबाट केही सकारात्मक प्रतिक्रिया आएन’ उनले भने ‘वडाध्यक्ष पनि अवलोकन गर्न आएका थिए । वडाध्यक्षको कुरा समेत सुनेन । अटेर गरेर हामीलाई समस्यामा पार्ने’ उनले गुनासो पोखे । हावाहुरी आउँदा उनको घरलाई रुखका हाँगाले समस्या र जोखिममा पारेको उनी बताउँछन् ।

 

स्थानीयस्तरमै विवाद समाधान गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले न्यायिक समिति स्थापना गरेको हो । आफ्नो अधिकार क्षेत्रभित्र रहेर महानगरले विभिन्न मुद्धाको मेलमिलाप पनि गराइसकेको छ । न्यायिक समितिले मेलमिलापसँगै पीडित पक्षका कुरा सुनेर न्याय दिलाउने काम गरिरहेको छ ।

 

न्यायिक समितिमा कानुन प्रक्रिया वा मुद्धा प्रक्रिया हुँदैन, त्यहाँ उजुरीकर्ता नै आफ्नो वकालतमा उभिएका हुन्छन् । समय–समयमा जिल्ला अदालत र सम्बन्धित निकाय अनुगमनमा आइरहन्छन् । न्यायिक समितिमा मुख्यतः घरायसी समस्या, जग्गा मिचिएको किचलो र सम्बन्धविच्छेदको उजुरी बढी आउने गरेको छ । न्यायिक समितिले मेलमिलापका लागि १ सय १४ जना मेलमिलापकर्ता समेत राखेको छ ।

 

न्यायिक समितिले १३ बुँदामा माग गर्दै आइरहेको छ । न्यायिक समिति २०७५÷७६ को आर्थिक वर्षमा ५ दरपीठ, ३ निरुपण, ३ मेलमिलाप, ७ तामेली र १९ सरेको गरी ३७ उजुरी हेरेको छ भने २०७६÷७७ को वर्षमा निरुपण ९, १२ मेलमिलाप, ३ तामेली, ३ मुल्तबी, १ खारेजी र १७ सरेको उजुरी गरी ४५ वटा दर्ता भएका उजुरी हेरेको छ ।

 

स्थानीयस्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनी व्यवस्थाको अधिकार प्रत्यायोजन गर्दै महानगरले तेस्रो नगरसभामा न्यायिक समिति गठन गरेको हो । जसलाई विभिन्न अधिकार क्षेत्रमा रहेर विवादको निरुपण गर्ने अधिकार छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समिति नगरपालिकामा संविधानको धारा २१७ बमोजिमको १ न्यायिक समिति रहने उल्लेख छ ।

कमेन्टहरु
Loading...