दिपक के श्रेष्ठ
सांसद रामकुमारी झाँक्रीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार दलाल र बिचौलियाको इशारामा चल्ने गरेको आरोप लगाएकी छिन् । सरकार पार्टीको एजेण्डा र भुँइमान्छेको पक्षमा नरहेको उनको भनाई छ ।
राजनीतिक भेटघाटमा पोखरा आइपुगेकी सांसद एवं युवा नेतृ झाँक्रीले गन्थन मिडियासँगको विशेष कार्यक्रम ‘दी डाइलग’मा उक्त अभिव्यक्ति दिएकी हुन् । विद्यार्थी आन्दोलनलाई सशक्तरुपमा अघि बढाउँदै वाम राजनीतिमा दह्रो उपस्थिति जनाएकी झाँक्रीले वर्तमान सरकारको कार्यशैलीप्रति रुखो आलोचना गरेकी हुन् । अहिले राजनीतिमा खाली खुट्टा नभई कार चढेर आउने प्रवृत्ति रहेको उनको भनाई छ । टन्न कमाएर राजनीतिमा छिर्ने अवसरवादीले खाँट्टी कार्यकर्ता पाखा लाग्न बाध्य भएको उनले जनाइन् ।
चुनावकाबेला पार्टीले दलाल र बिचौलियासँग पैसा उठाउने भएकाले सरकारमा पुगेपछि उनीहरुकै पक्षमा काम गर्नु पर्दा जनताप्रति उत्तरदायी हुन नसकेको उनले प्रष्ट्याइन् । यस प्रसंगमा सोधिएको एक प्रश्नको जवाफमा उनले भनिन् ‘यो वा त्यो भनेर किटान गर्न जरुरी छैन, नेपालमा सबै पार्टीका चुनावी खर्च उनीहरुबाटै हुने गरेको छ ।’
अब एजेण्डा हैन, कमाएर वा कमाउन पार्टीमा छिर्ने चलन बढेको छ भन्दै कम्युनिष्टको सरकारले यसलाई झनै बढावा दिएको झाँक्रीले टिप्पणी गरिन् । उनी भन्छिन्, ‘यदि मैले लाभ र स्वार्थ राखेका मान्छेसँग पैसा लिएर चुनाव लडे, जिते भने म उसैको लागि काम गर्न बाध्य हुन्छु ।’ अहिले यहि भइराखेको उनको बुझाई छ ।
आफ्नै पार्टीको सरकारमा सांसद रहेर पनि निरन्तर विरोधमा उत्रिएकी झाँक्री आफुले सरकार र पार्टीको नभई कार्यशैलीको विरोध गरेको बताउँछिन् । ‘सरकारसँग धेरै जनअपेक्षा छ तर सरकार अरुकै हितमा बढी लाग्यो’ उनी भन्छिन् ‘कुरा ठूला भए तर काम भएन ।’ दलाल र बिचौलियाको सुझावमा कानून बनाउँदा उनीहरु नै हाबी भएको औंल्याउँदै उनले यसै कारण कानुनमा ‘लुपहोल’ भेटिने जनाइन् ।
आफु प्रणालीगत सुधारको पक्षमा रहेको र त्यसैका खातिर आवाज उठाउँदा व्यक्तिगत टकराव देखिएको भन्दै उनले ‘कुनै पनि कानून बनिरहँदा त्यसको लाभ आम जनताले लिनुपर्छ भनेर काम गर्दा विद्रोही देखिनु स्वभाविक भएको’ प्रतिक्रिया दिइन् । कम्युनिष्टको सरकार, दुई तिहाइको सरकार भन्ने बित्तिकै साम्यवादी सुनिने तर फाइदा पुरानै व्यक्तिले लिने परिपाटीप्रति उनले कटाक्ष गरिन् । पार्टीको नाम र झण्डा अनुरुप सरकारले काम गर्नुपर्ने उनको धारणा छ ।
सरकारका सफलता र असफलताबारे गरिएको प्रश्नमा उनले कुनै जवाफ दिन चाहिनन् । आफु पार्टीको र प्रधानमन्त्रीसँग सम्बन्धित कुनै पनि प्रश्नको जवाफ नदिने भन्दै उनी पन्छिइन् । उनले सरकारको वर्तमान कार्यशैलीप्रति असन्तुष्ट रहेको घुमाउरो पाराले जवाफ दिइन् ।
हाल पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी झाँक्री अभिव्यक्ति र स्टाटसकाकारण सामाजिक सञ्जालमा छाइरहन्छिन् । सञ्जालमा र संसदमा ‘विद्रोही’ देखिने उनी गलतलाई गलत भन्न सक्ने हैसियत राख्छिन् । पार्टीमा धनाढ्य वर्गको प्रवेश र उनीहरुको हालीमुहालीप्रति विरोध जनाउने झाँक्री आफु सँधै पार्टीको तल्लो पंक्तिसँग नजिक रहेको बताउँछिन् । ‘पोखरामा मेरो साथीहरुसँग मोटरसाइकल पनि छैन, हामी यहाँ अन्तरवार्ता दिन सार्वजनिक सवारी चढेर आएका हौं’ उनले भनिन् ।
सरकारमै रहेर पनि उनी असन्तुष्ट देखिइन् । सरकारभन्दा पार्टीको शुद्धिकरण र राजनीतिक संस्कारको विकास महत्वपूर्ण ठान्ने झाँक्रीले आफु अझै निराश भइनसकेको उल्लेख गरिन् । दुई तिहाइको दम्भले मात्रै काम नगर्ने र अर्काे चुनावका लागि आजैदेखि सोचेर केही स्मार्ट योजना बनाउनु पर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘देश बन्न पार्टीहरु सुध्रिनै पर्छ, हामी सुध्रनै पर्छ, यसको विकल्प छैन ।’