ऋषिकान्त पौडेल
तपाईलाई मुटुमा च्वास्स घोचेको अनुभव हुन्छ ? यदि त्यस्तो हुन्छ भने तपाईलाई लाग्छ कि मुटुमा समस्या उत्पन्न भयो । त्यो घोचाई सामान्य भए त कुनै अस्पतालसम्म पुग्न आवश्यक पनि नहोला । तर सामान्य नभई ठूलो समस्याकै रुपमा देखा परेमा भने तत्काल वा एक घण्टा भित्र उपचार गर्नुपर्ने हुन्छ । र तपाई आवश्यक रकमको जोहोसहित देशकै राजधानीतर्फ हानिन उन्मुख हुने गर्नु हुन्छ ।
पोखरा मुलुकको दोश्रो ठूलो शहर । पोखरा महानगरपालिका मुलुककै ठूलो महानगरपालिका । यहाँ सामान्य क्लिनिकदेखि तारे हस्पिटलसम्म छन् । तर मुटुसम्बन्धि ठूलो समस्या आईप¥यो भने राजधानी काठमाडौकै भर पर्नुपर्ने बाध्यता रहेको छ । कारण पर्याप्त पूर्वाधारको अभाव सँगै मुटुरोग विशेषज्ञको अभाव पनि ।
पोखरामा रहेको साविकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जहाँ सामान्य र विपन्न नागरीकको उपचार हुने भनिन्छ त्यहि अस्पतालमा मुटुरोग(कार्डियोलोजी) विभाग छ तर गहन समस्याको उपचार र शल्यक्रिया हुनै सक्दैन । विभागको मुख्य चुनौतीका रुपमा आवश्यक उपकरण तथा चिकित्सकको अभाव नै प्रमुख हो । हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाका अनुसार पोखरामा सामान्य मुटु रोगको उपचार हुने भएपनि शल्यक्रिया हुन कठीन छ । ‘ पोखरामा हालसम्म मणिपाल अस्पताल र हाम्रोमा( पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ) बेसिक खालको मुटुरोगको उपचार गर्न सक्ने अवस्था छ तर नागरीकको विश्वासको पनि कुरा हुदोरहेछ काठमाडौमै जान खोज्ने अवस्था छ । ’, थापाले भन्छन् ।
रोटरी क्लबसँगको सहकार्यमा पछिल्लो समय क्याथल्याब सेवाका लागि मेसीन ल्याईसकेको पनि थापाले जानकारी दिए । तर उक्त मेसीन राख्ने स्थानको अभावले गर्दा बिरामीलाई सेवा सुरु गर्न नसकिएको थापाको गुनासो छ । ‘अप्रेसन कोठा कोरोनाका विरामीका कारण भरीएको छ त्यस्तै आईसियु र सिसियु नजिक राख्नुपर्ने हो त्यहाँ पनि ठाउँ छैन तर ठाउँ खोजीरहेका छौ । ’थापाले भने ।
पोखराको मणिपाल शिक्षण हस्पतालमा मुटुरोगसंग सम्बन्धित एन्जियोग्राफी, एन्जियोप्लाष्टी लगायतका उपचार सेवा संञ्चालनमा छन् । जसले गर्दा पोखरा वरपरका नागरीकहरुलाई हृदयघात भई हाले समयमै उपचार नपाएर बिरामीले जीवन गुमाउनुपर्ने पीडादायी अवस्था भने छैन । यद्यपि यस अस्पतालमा पनि जटील किसीमको मुटुरोग उपचार गर्नुपर्ने राजधानी काठमाडौ नै रेफर गर्ने गरेको छ ।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डाक्टर आशिस त्रिपाठीका अनुसार पोखरामा पेटभित्रको बच्चाको मुटुसम्बन्धि समस्या पनि समाधान हुन्छ । तर जटिल किसीमको मुटुरोगको उपचारमा काबिल नरहेको डाक्टर त्रिपाठीको स्वीकारोक्ति छ । ‘हामी पेटभित्रको बच्चाको मुटुरोगको समेत काम गरेका छौ तर बिडम्बना जटील किसीमको मुटुरोगीको उपचार गर्न सक्दैनौ ।’, त्रीपाठीले भने । उनका अनुसार हार्ट फेलिएरको समस्यामा बेसीक किसीमका पेसमेकर यहाँ हाल्न सम्भव भएपनि जटील पेसमेकरका लागि काठमाडौमा त्यो पनि विदेशी चिकित्सकको सहयोग लिनुपर्ने बाध्यता छ ।
यसैगरी पोखरामा भर्खरैमात्र सेवा सुरु गर्दै गरेको चरक मेमोरीयल अस्पतालले पनि मुटुरोगको उपचारका लागि क्थाथल्याब सेवा प्रदान गर्ने तयारी गरेको छ । तर चरकका लागि पनि दक्ष जनशक्तिको भने अभाव देखिने सम्भावना उत्तिकै छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार एकजना विशेषज्ञ चिकित्सक पोखरा बाहिरबाट ल्याउने तयारी पनि भएको छ । क्याथल्याब सेवा सुरु भएपछि मुटुसम्बन्धि रोगको उपचारमा चरकले फाड्को मार्ने पोखरेल दावी गर्छन् ।
मुटुरोग उपचारका लागि महत्वपूर्ण छ क्याथल्याब सेवा
क्याथल्याब भनेको मुटुको शल्यक्रिया तथा उपचारका लागि तयार पारिएको उपकरण सहितको विशेष कक्ष हो । यस्तो कक्षमा विशेष प्रकारका मेसिनहरु राखेर मुटुको बन्द भएको नली खोल्ने काम गरिन्छ ।
क्याथल्याबमा मुटुको बिना चिरफार गरिने उपचार कोरोनरी एन्जियोप्लास्टीको काम हुने गर्छ । चिकित्सक अनुसार यो उपचार विधिमा साँघुरिएको वा बन्द भएको मुटुको धमनी खोल्नका लागि विशेष प्रकारले तयार पारिएको बेलुन (क्याथेटर) को प्रयोग गरिन्छ । प्रविधिको विकाससँगै अहिले यो उपचार विधिमा साँघुरिएको नलीमा ‘स्टेन्ट’ प्रत्यारोपण गर्ने गरिन्छ । स्टेन्ट औषधिसहित र औषधिरहित २ थरीका हुन्छन् । धमनीमा बोसो जम्नबाट रोक्न अहिले औषधियुक्त स्टेन्ट प्रयोग गरिन्छ । औषधि सहितको स्टेन्ट महँगो उपचार विधिमा पर्छ ।
अवस्था हेर्दा पोखरामा चिकित्सक उत्पादन गर्ने शिक्षण अस्पतालसहित दर्जनौ अन्य अस्पताल भएपनि मुटुरोगको उपचारमा महत्वपूर्ण क्याथल्याब सेवा तीन अस्पतालमा मात्रै उपलब्ध हुनेछ ।
पोखरामा मुटुरोग विशेषज्ञ पर्याप्त छन् त ?
नेपालमा हालसम्म दर्ता भएका मुटुरोग विशेषज्ञको संख्या १ सय ५० पुगनपुग भएको तथ्याङक छ । यसमा कार्डियाक सर्जन र कार्डियोलोजिस्ट दुवै पर्छन् । त्यसमध्ये पोखरामा मुश्कीलले आधा दर्जनमात्रै मुटुरोग विशेषज्ञ रहेका छन् । जसमध्ये मणिपाल अस्पतालमा ३ जना , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र चरक मेमोरीयलले क्याथल्याब सेवा सुरु गरेपछि आउने एक जना । गण्डकी प्रदेशको कुल जनसङ्ख्या करीब २५ लाख रहेको छ । जनसंख्याको आधारमा हेर्ने हो भने, १ जना मुटुरोग विशेषज्ञको भागमा ६ लाख भन्दा बढी मानिस पर्न आउँछन् । यो तथ्याङ्कले के जनाउँछ भने विशेषज्ञ डाक्टरको संख्या अत्यन्त कम छ । अधिकांश चिकित्सकहरु राजधानी केन्द्रित रहने कारण पनि मोफसलमा मुटुरोग विशेषज्ञको अभाव कायम रहेको हो ।