पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४ वर्षीय तेजबहादुर गुरुङलाई महानगरले सम्मान गरेको हो । कोरोना भाइरसका कारण महानगरले दुबै जनालाई घरमा पुगेर सम्मान गरेको हो ।
पोखरा ११ रानीपैवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्दै आएको छ । महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख जिसीले हाम्रो आनीबानी र खानपानमा ख्याल नगर्दा आफ्नो आयु आफैले घटाइहेको बताए । ‘नियमित अनुशासनमा बस्ने र खानपानमा ख्याल गर्ने हो भने आयु बढ्छ भन्ने मेरो विश्वास छ,’ जिसीले भने । उनले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए । ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने भनाइ उनको थियो । सम्मानित गुरुङले खादा लगाएर महानगर प्रमुखलाई आर्शीवाद दिएका थिए ।
उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताईन् । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताईन् ।
स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै यस आर्थिक वर्षबाट पोखरा महानगरपालिकाभित्र सार्वजनिक यातायाताको भाडा निशुल्क गर्ने गरी २० लाख रुपैंयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् । सम्मानित महानगर माता गिरीले आफ्नै घरमा सम्मानित हुन पाएकोमा खुशी लागेको बताईन् ।
वडा नम्बर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखेद भएको बाउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायूको कामना गरे । कार्यपालिका सदस्य सन्तु सुवेदीले ज्येष्ठ नागरिकलाई अपमान र हेयको दृष्टिले हेर्न नहुने बताए । वडा नम्बर ११ अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा नगर सदस्य तीर्था गुरुङ र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपाने निरौनाले ज्येष्ठ नागरिकको बारेमा बोलेका थिए ।