पोखरा–दिल्ली बस सेवा असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने

पोखरा । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

पर्यटकीय सहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले ७ महिनापछि पुनः सेवा सुरु गर्न लागिएको जनाएको छ । पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको १ र प्रालिअन्तर्गत १ गरी दैनिक २ बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले जानकारी दिएका छन् । पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ । अधिकारीले भने, ‘नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारीपारी गाडी रोक्छौं, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौं, बोर्डर खुलेपछि सिधा/सिधा सञ्चालन गर्छौं ।’

दसैं, तिहारलगायत चाडपर्व नजिकिरहेको र पेसा–व्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा सुरु गरिएको बताइन्छ । विगतमा पोखरा–दिल्लीको भाडा ४ हजार रहेकामा हाललाई ५ सय वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोडर्न इराले १४ वर्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच २ देशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो । रासस

कमेन्टहरु
Loading...