२ हजार ३ सयभन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दावी

एजेन्सी । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा २ हजार ३ सय भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३ सय सैनिक मारिएको उल्लेख छ । साथै १ सय ३० वटा ट्याँक र अन्य बख्तरबन्द गाडी, २ सयभन्दा बढी आर्टिलरी, क्षेप्यास्त्र र मोर्टार लन्चर, झण्डै २५ वटा हवाई प्रतिरक्षा प्रणाली, ६ वटा कमान्ड पोस्ट, ५ वटा हातहतियार भण्डार समेतका सैनिक बन्तोबस्तीका सामानमा क्षति पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

आर्मेनियाका पृथकतावादीले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा आफ्ना ३९ जनाभन्दा बढी लडाकू मारिएको बताएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिनदेखि भिषण सैनिक कारवाही सुरु गरेको छ । विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाईं रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको सुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष हुँदै आएको छ । यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाईं भएको थियो । अजरबैजानको रक्षा मन्त्रालयले भनेको छ, ‘अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।’

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर सहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ । गत साता आइतबारदेखि लडाईं सुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् ।

मुस्लिम–बहुल अजरबैजान र इसाई–बहुल आर्मेनियाबीचको लडाईंले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ । आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ ।

फ्रान्स, जर्मनी, इटली, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । आर्मेनिया र काराबाखले आइतबार सैनिक कानुन र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला सहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको सुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यस क्रममा ३० हजारको ज्यान समेत गएको थियो । दुवै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो ।

फ्रान्स, रसिया र संयुक्त राज्य अमेरिकाले ‘मिन्स्क समुह’ बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए । तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो वर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् । रासस

कमेन्टहरु
Loading...