पोखरा । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै पोखरामा प्रदर्शन भएको छ । पोखराका युवाहरुको स्वस्फूर्त आयोजनामा भएको मौन विरोध प्रदर्शनमा सम्झनालाई न्याय दिनुपर्ने र बलात्कार विरुद्ध कडा कानुनी कारवाहीको माग गरेका थिए ।
उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन् । विरोधमा सहभागि अनि कर्माले सरकारले बलात्कार जस्तो जघन्य अपराधका लागि पारदर्शी कानून बनाउनुपर्ने बताईन ।
‘ सरकारले तेजाब आक्रमणकारीका लागि बनाएको कानुन जस्तै बलात्कारीका लागि पनि कडा कानुन ल्याउनुपर्छ । उनले भनिन् । ’ हामी सधैं सरकार समक्ष न्यायको लागि यसरी हिड्न सकिदैन । ’
गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या पुष्टि भएको थियो । प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कारपछि हत्या घटनामा राजेन्द्र बोहराको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
राजेन्द्रले गत बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी १२ वर्षीया बालिकाको बलात्कारपछि आफैँले हत्या गरेको स्वीकार गरिसकेका छन् । घटनामा अन्यको संलग्नता भए–नभएकोबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।