एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी ९ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिदै निरिह बनाएको छ ।
‘मृत्यु भएकाको यो केवल संख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौं मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ ।’ चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भने । मिचिगन विश्वविद्यालयमा कार्यरत मर्केलले यही कोरोना महामारीकै क्रममा ८४ बर्षिया आफ्नी आमालाई गुमाउनु भएको थियो । ‘निधन भएकाहरुको सङ्ख्यामा कोही हाम्रा दाइ छन्, कोही भाइ छन्, कोही हाम्रा दिदिबहिनी छन्, कोही बुवा आमा हुनुहुन्छ, त्यसैले यसले धेरैलाई प्रभावित पारेको छ । हामीमा मानवीयता छैन भने मात्रै यो संख्याले कुनै असर पार्दैन, नत्र यसले विक्षिप्त पार्छ ।’ उनले भने ।
जोन हकिङ्स विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको मृतकहरुको संखया जेरुसेलम वा अस्टीनकोभन्दा धेरै भएको पनि उनले बताए । त्यसैगरी सन् २००४ मा हिन्द महासागर क्षेत्रमा आएको भूकम्प र आँधीले गरेको क्षतिभन्दा धेरै मानवीय क्षति भएको पनि उल्लेख गरिएको छ । औसतमा दैनिक ५ हजार मानिसको कोरोनाभाइरसका कारण मृत्यु भइरहेको विवरणहरु सार्वजनिक भइरहेका छन् ।
बेलायत र युरोपेली मुलुकहरुमा महामारीको दोस्रो चरण चलिरहेको छ । संसारका अधिकांश देशहरुमा अहिले पनि दैनिक रुपमा हजारौ मानिसको मृत्यु भइरहेको छ । पछिल्लो विवरण अनुसार कोरोनाका कारण विश्वभरी कुल मृतकको संखया १० लाख ६ हजार ४ सय ७१ पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने ३ करोड ३५ लाख ५७ हजार ९ सय ५९ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये २ करोड ४८ लाख ८२ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने ७६ लाख ६९ हजार ३ सय २ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कुल संक्रमितमध्ये ६५ हजार ३ सय २५ जना मात्रै गम्भीर अवस्थामा छन् भने अरु ७६ लाख ३ हजार ९ सय ७७ जनाको अवस्था सामान्य रहेको छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारत, ब्राजिल, रुस कोलम्बीया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टीना र दक्षिण अफ्रिका क्रमशः अग्र दश मुलुकमा रहेका छन् । रासस