बाथ, मुटुरोग र रोकथामका उपायहरू

विश्वमै पछिल्लो समय मुटुरोगका विरामी जे जसरी बढ्दै गएका छन्, त्यसलाई हेर्ने हो भने यो रोग विश्वकै प्रमुख स्वास्थ्य समस्याको एक नम्वर हुन पुगेको छ । जुन चिन्ताको विषय हो । आज विश्वमा मृत्यु हुनेको झण्डै एक तिहाई मानिस मुटुरोगको कारण मृत्यु भएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २००० देखि मुटुरोग सचेतना अभियान बढाउन सेप्टेम्वर महिनाको २९ तारिखलाई विश्व मुटु दिवस मनाउँदै आएको छ ।

यस बर्ष ‘‘मन लगाऔं, मुटु बचाऔं (Use Heart to beat Cardiovascular Diseases) भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइदै छ । हामीहरूले यर्थात हरेक व्यक्तिले अनी हरेक संघ संस्था र निकायले, त्यसैगरी सरकारका सबै तह र तप्काले आज मनैदेखि मुटुरोग, रोकथामका उपायहरू अवलम्वन गर्नु पर्ने हुन्छ, सचेतना अभियान चाल्नु पर्ने हुन्छ त्यस्तै आफ्ना कार्यक्रम र गतिविधि मुटुरोग रोकथामका उपाय अवलम्वन गर्ने गराउने हुनु पर्दछ ।

खास गरी मुटुरोग व्यस्त जीवनशैली, अस्वस्थ्य एवम् अनियमित खानपान, जङ्कफुडको बढी प्रयोग शारीरिक व्यायाम, कसरतको अभाव, तनावको अवस्थाका कारण हुने गर्दछ । तर कतिपय मुटुरोग हाम्रो होसियारीमा कमी, समयमा ख्याल नपु¥याउँदा र जन्मजात वा वंशाणुगत कारण वाट पनि हुने गर्दछन् । तिनै मुटुरोग मध्यको एउटा समस्या वाथ मुटुरोग पनि हो ।

वाथ ज्वरोको कारणले उत्पन्न हुने रोगलाई वाथ मुटुरोग अथवा मुटुको भल्भ विग्रने रोग भनिन्छ । यो रोग एकैपटक लाग्ने होइन । वास्तवमा मुटुरोग घाँटीबाट शुरू भई जोर्नीको बाटो हुँदै मुटुसम्म पुगेको अवस्था हो । यो रोगको विकास लाई तीन चरणमा हेर्न सकिन्छ ।

प्रथम चरणः– घाँटीको सङ्क्रमण (Tonsillitis/ Pharyngitis) – घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने ।
दोस्रो चरणः– बाथ ज्वरो (Rheumatic Fever) – हात खुट्टाका ठूला जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने ।
तेस्रो चरणः– बाथ मुटु रोग (Rheumatic Heart Disease) मुटुका भल्भहरू विग्रिने, मुटु सुन्निने, दम बढ्ने ।

यसरी हेर्दा घाँटी दुख्दा, टन्सिल बढ्दा समयमै उपचार भएन भने बाथ ज्वरोको सम्भावना हुनसक्छ । अनि बाथ ज्वरोको समयमै उपचार नभएमा बाथ ज्वरो विग्रिन गई बाथ मुटुरोग लाग्न सक्दछ । विशेष गरि ५ देखि १५ बर्ष उमेरका बालबालिकाहरूलाई घाँटीको संक्रमण व्याक्टेरीया वा भाइरस जातका जीवाणु वा विषाणुको कारण हुन सक्दछ ।

घाँटीको संक्रमण हुँदा टन्सिल सुनिने, घाँटी दुख्ने र थुक निल्न गाह्रो हुने हुन्छ । व्याक्टेरीया तथा भाइरसको संक्रमण हुँदा फरक–फरक लक्षमण तथा चिन्हहरू देखिन्छन् । यदी स्ट्रेप्टोकोकस ग्रुप ए (Streptococcus Group A) भन्ने व्याक्टेरीया बाट टन्सील बढेको अवस्थामा समयमा उपचार नहुँदा बाथ ज्वरोको समस्या आउन सक्छ । सामान्य तथा भाइरसको संक्रमण हुँदा घरमै घरेलु उपचारबाट पनि ५-७ दिनमा आफै निको हुन सक्छ तर व्याक्टेरीयाको संक्रमणबाट भएको टन्सिलाइटिस र फ्यारेन्जाइटिस भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्ने हुन्छ ब्याक्टेरीयाको कारण हुने घाँटीको संक्रमणका लक्षणहरूः–(१) घाँटी दुख्ने र निल्न गाह्रो हुने । (२) ठूलो ज्वरो आउने ।

चिन्हहरूः–
(१) टन्सिलहरू धेरै सुन्निने, रसिलो र रातो देखिने अनि टन्सिलमा पिप जमेको देखिन सक्छ ।
(२) घाँटीको भित्री भागहरू सुन्निएको, रातो भएको देखिने, पिपका रेशाहरू टाँसिएको देखिन सक्छन् । माथिल्लो भित्तामा रगतका छिटाहरू देखिन सक्छन् ।
(३) घाँटीको बाहिरी भागमा गिर्खाहरू बढ्ने र ती गीर्खाहरू दुख्ने हुन्छन् ।

भाइरसका कारण हुने घाँटीको संक्रमणका लक्षणहरूः–
(१) घाँटीमा अप्ठेरो हुने
(२) सानो ज्वरो आउने
(३) रुघाखोकी लाग्ने, नाकबाट पानी बग्ने आँखाहरू बिझाउने र राता हुने, स्वर घोक्रो हुने र हाच्छिउँ आउने ।

चिन्हहरूः–
(१) टन्सिलहरू अलि–अलि सुन्निने, रसिलो र राता देखिने, टन्सिलमा पिप जमेको देखिदैन ।
(२) Pharynx रातो र रसिलो हुने, पिपका रेसाहरू र रगतका छिटाहरू देखिदैनन् ।

यसरी ब्याक्टेरीयाकै कारण भएको घाँटीको समस्या पनि ५-६ दिन पछि औषधि खादा वा नखाँदा पनि निको भएको जस्तो देखिन सक्छ वा ठिक हुन सक्छ । तर घाँटी दुख्न र ज्वरो आउन ठिक भएको १÷२ हप्तापछि फेरी ज्वरो आउने, बल्झिने अनी साथमा घुँडा, कुर्कुच्चा, कुहिना, नाडी आदिका जोर्नीहरू दुख्ने र सुन्निने हुन सक्दछ ।
यसमा एउटा जोर्नीबाट अर्को जोर्नीमा दुखाई सर्न सक्छ । यस प्रकारको लक्षण बाथ रोगको लक्षण हो । यो समस्या पछि मुटुमा पुगी मुटु सुन्निने, भल्भहरू विग्रने हुन्छ । यस रोगको कारण मुटुका ४ वटा भल्भमध्ये कुनै एक दुई वा बढी भल्भहरू विग्रने, साँघुरीने वा खुकुलो हुने समस्या देखिनछ । यो रोगले जोर्नीलाई चाट्छ मात्र तर मुटुलाई रोक्छ । यस्तो अवस्थामा पुगेपछि औषधीले खासै काम गर्दैन । त्यसैले टन्सिलको समस्या देखिसाथ समयमै निदान गरी उपचार गर्न सकेमा यस्तो अवस्थामा पुग्न पाउँदैन ।

बाथ मुटुरोग लक्षण तथा चिन्हहरूः–
(१) हिँड्दा वा परिश्रम गर्दा स्वाँ, स्वाँ हुने, दम बढ्ने ।
(२) मुटु छिटो छिटो वा बेतालले चलेको अनुभव हुने
(३) खोक्दा कफमा रगत देखिने –कोही कोहीमा मात्र) ।
(४) छात्ती दुख्ने ।
(५) खुट्टाहरू सुन्निने ।

बाथ मुटुरोग छ छैन पत्ता लगाउन मुटुरोग विशेषज्ञले स्वास्थ्य परिक्षण, मुटुको मिडियो एक्सरे (इकोकार्डियोग्राफी) परिक्षण गरेर पत्ता लगाउन सक्दछन् । मुटुरोगको समयमै उपचार नगरेमा हार्टफेल, पक्षघात, भल्भको इन्फेक्सन र मृत्यु समेतका समस्या आउने खतरा हुन्छ । अनि बाथ मुटुरोगले मुटुमा, भल्भहरूमा पटक–पटक आक्रमण नगरोस भन्नाका लागि नियमित वा लामो सयय पेनिसिलिनको सुई समेत लिनुपर्ने हुन सक्दछ । कतिपय बाथ मुटुरोगीहरूलाई औषधी खाएर पनि निको नहुन सक्ने भएकोले शल्यचिकित्सा (अप्रेसन) गर्नु पर्ने हुन सक्छ ।

त्यसैले मुटुको जटिल समस्या आउन नदिन घाँटीको संक्रमण हुने वित्तीकै चिकित्सकको सल्लाह लिनु नै उत्तम मानिन्छ । नेपालमा पछिल्लो समय बाथ मुटुरोगको उपचारको व्यवस्था भए पनि ठूला शहरमा मात्र केन्द्रित भएको, मुटुको समस्या आएमा लामो समय औषधी खानुपर्ने वा शल्यक्रिया समेत गर्नुपर्ने हुँदा यो महंगो छ । त्यत्तिकै जटिल पनि छ । त्यसैले सचेतना अभियान गर्न सकेमा समयमै समस्या निदान गरी उपचार गर्नु राम्रो हुन्छ । त्यसलाई व्यापक बनाउन आवश्यक छ ।

(लेखकः– नेपाल हृदयरोग निवारण प्रतिष्ठानका गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य हुन् )

कमेन्टहरु
Loading...