पोखरा । क्याटरिङ तथा पार्टीप्यालेस व्यवसायीले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य प्रोटोकल पुरा गरेर आफ्नो पेसा तथा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । सरकारको निर्देशन पालना गदै कोभिड १९का कारण झण्डै ७ महिनासम्म आफ्नो व्यवसाय बन्द गरेका व्यवसायीले आज कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै यस्तो माग गरेका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ लामो समयसम्म सञ्चालन नहुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै उनीहरुले सरकारले तोकेको सामाजिक दुरी सहितको सुरक्षात्मक विधि अपनाएर व्यवसाय सञ्चालनका लागि वातावरण सृजना गर्न सरकारसँग आग्रह गरेका हुन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले ३ तारे होटल सरह सेवा सुविधा दिंदै आएको पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघका अध्यक्ष गुण प्रसाद सापकोटाले बताए । ‘बढ्दो सहरीकरणलाई आत्मसाथ गर्दै जनताको सुखः दुखमा छिटो छरितो र सुलभ मुल्यमा सेवा दिइरहेका छौं ।’ उनले भने । समान प्रकृतिका होटल तथा रेस्टुरेन्ट, यातायात, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालनमा आए पनि लकडाउनको अवधी वा लकडाउन खुलेपछि समेत यो व्यवसाय पुर्ण रुपमा बन्द छ । ‘व्यवसाय बन्द हुँदा हजारौं मजदुर भोकमरीको चपेटामा परेका छन् । व्यवसायी बैंकको व्याज बुझाउन समेत सकिरहेका छैनन् ।’ संघका महासचिव सुर्यमणी लामिछानेले भने ।
आफूहरुले राज्यको नीति नियम र निर्णयलाई सदा अवलम्वन गर्ने भन्दै ज्ञापनपत्रमा नीति नियमसँगै व्यवहारिक पक्षलाई समेत ध्यान दिन आग्रह गरिएको छ । कोरोना कहरबीच व्यवसाय बन्द हुँदा पनि पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघले राज्यलाई कर तिर्नुका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रमा मात्रै यो व्यवसायमा करिव ३ अर्बभन्दा बढीको लगानी छ । १ हजार भन्दा बढी मजदुर र उनीहरुका परिवार यो व्यवसायमा आश्रित रहँदै आएका छन् ।