सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमित मुक्त

खोटाङ । सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट संक्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमित मुक्त जिल्ला भएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा हालसम्म १ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा संक्रमण देखिएका सबैजना संक्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिएका छन् ।

पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसिआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६ सय ४० जनाको पिसिआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । नगरपालिकामा देखिएका संक्रमितमध्ये ७ जना नेपाल प्रहरीका टन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा १ सय १२ जनाको पिसीआर परीक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेंसी र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छैनन् ।

हालसम्म जिल्लामा १ हजार ६ सय ८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर संक्रमितको संख्या बढ्दै गएपछि संघीय सरकारको लगानीमा हरेक स्थानीय तहमा ५÷५ शैयाको अस्थायीरूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण सुरु गरिएको हो । रासस

कमेन्टहरु
Loading...