– दिपक के श्रेष्ठ
जनवरी २०१८ । नयाँ वर्षको पहिलो दिन पुसको ठिहीमा सरिता साथीसँग दिउँसो भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र पुगिन् । करिब ५ मिनेटपछि उनको हातमा केन्द्रले १४७४ नम्बरको एउटा कार्ड थमाइदियो ।
कार्ड हात पर्नेबित्तिकै उनले मानव चोला सफल भएको ठानिन् । त्यो कार्ड थियो, मृत्युपश्चात् आफ्नो सम्पूर्ण अंगदान गरिएको इच्छापत्र । खुशीले अटसमटस सरिताले तत्काल त्यो स्वर्णीम पललाई सामाजिक सञ्जालमार्फत शेयर गरिन् । त्यस क्षणको वर्णन गर्न सरिताले आजसम्म कुनै शब्द भेटेकी छैनन् ।
आफु संसारबाट बिदा भएपछि पनि कसैले नयाँ जीवन पाउने सोच्दा उनी आफै पुलकित भइन् । मानव हुनुको अर्थ बुझेको सोच्दै सरिताले मनमनै यत्ति भनिन्, ‘फाइनल्ली, आई डिड इट ।’
उमेरले ३५ लागेकी सरिता गुरुङलाई अंगदान गर्ने सोंच काठमाण्डौंमा ०६२ सालतिर पद्यकन्या क्याम्पस पढ्दाताका नै आएको थियो । तिलगंगा आँखा अस्पताल त्रिपुरेश्वरमा आँखादान गर्न पाइने सुनेपछि उनलाई त्यतिबेलै मृत्युपछि आफ्नो अंगदान गर्ने विचार गरिन् । त्यहीबेलादेखि प्रक्रियामा रहेकी उनको योजनाले मूर्तरुप भने यही नयाँवर्षका दिन पुरा भयो । सर्वाङ्ग दान गर्ने सोंच कसरी आयो ? उनको जवाफ छ, ‘आफु जलेर वा गडेर जाँदाजाँदै फेरि कसैलाई नयाँ जीवन दिएर जान सकिन्छ भने किन लोभ गर्ने ? भन्ने कुराले मनसपटलमा राज जमाएका कारण अंगदान गरेकी हुँ ।’
धर्म, संस्कारअनुरुप यस्तो कार्यलाई निरुत्साहित गर्ने समाजमा अंगदान गर्दा संस्कार विरोधीको आरोप लगाइने गरिएकोमा उनी असन्तुष्टी पोख्छिन् । सरिता भन्छिन् , ‘घरपरिवारमा अंगदानबारे ज्ञान नभएका कारण अझै पनि तनाव खेपिरहेकी छु ।’ तर समाजको परिवर्तन चाहनेले सुरुवात पनि आफैबाट गर्नुपर्छ भन्ने भावनामा अडिग उनलाई त्यस्ता संस्कारहरुले रोक्न सकेन । र, उनमा मरेपछिको शरीरप्रति कुनै लोभ पनि रहेन । परिवर्तन ल्याउन वा सोंच बदल्न सजिलो छैन भन्ने ठान्दै उनी अंगदान गर्न तयार भइन् । ‘मलाई लाग्छ समाजमा केही परिवर्तन ल्याउन त्यति सजिलो छैन । विवादित भईन्छ, आँखी भइन्छ, तर परिवर्तनका खारित आफैबाट सुरु गर्नु पर्छ’ उनले प्रष्ट्याइन् । विकसित देसहरुमा सवारी चालक अनुमतिपत्र लिने बेला अनुमति पत्रमै अंगदान गरेको भनेर पान आकारको चित्र राखिने चलन छ ।
उनको कामना छ, संसारको जुनसुकै कुनामा जीवनको अन्तिम अध्याय सकिँदै गर्दा, चितामाथि जल्दै गर्दा या जमिनमुनि पुरिदै गर्दा उनका अंगहरु कसैलाई बचाउन सफल प्रत्यारोपण होस् । नयाँ जीवन पाउनेहरुले आफुजस्तै सोंच पाल्ने युवा जन्माउन् । अंगदानपछिको अर्को बेजोड खुसी छ उनीसँग । मृत्युपछि पनि उनी मरेकी हुँदिनन् । उनका अंगहरु कुनै अर्को व्यक्तिको शरीरमा जिवितै हुन्छन् । उनको आँखाहरुले दुनियाँ हेरिरहेका हुन्छन् । अंगहरु चलिरहेका हुन्छन् । अझ भनौ, धड्कन धड्किरहेको हुन्छ । सहयोगको पर्याय बनेर बाँचिरहदा उनीसँग समाजलाई दिन केही छैन । छ त केवल शरिर । यही शरिरलाई दान गर्न पाउदा उनी नामजस्तै ‘सरिता’ भएकी छिन् ।
र, सोही दिन सरिताले लामो स्टाटस राखिन्ः
अंगदानको फारम भरौ, मानवताको विकास गरौं
मैले अर्को जन्म नलिने प्रण गरे । आँखादान गरे अर्को जन्ममा अन्धो भएर जन्मिनु पर्छ भन्ने सोंच परिवर्तन गर्नुपर्छ ।
अब बस स्वस्थ रहेर दान गरिएका मेरा अंगहरु मेरो मृत्युपछि स्वस्थरुपमा अरुलाई प्रत्यारोपण गरी नयाँ जीवन दिन सक्नु नै मेरो लक्ष्य रहने छ ।
मानिसको मृत्युपश्चात प्रत्यारोपण गर्न मिल्ने अंगहरु मृगौला, मुटु, फोक्सो, कलेजो, पाचनथैली, सानो आन्द्रा ।
फारम भर्न सजिलो छ । एक कपि नागरिकताको फोटोकपि र दुई कपि पासपोर्ट साईजको फोटो लिएर मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको ७ नं कोठामा गएर फारम भर्ने ।
हालसम्म नेपालमा मृगौला र कलेजो प्रत्यारोपण मात्रै गरिने भए पनि आगामी दिनमा अन्य अंगहरु प्रत्यारोपणको प्रणाली पनि भित्रिने संभावना ।
हजुरहरुले यो फारम भरेर आफ्नो घरपरिवार लगायत नजिकको मान्छेलाई जानकारी गराउनु पर्छ । तपाई विश्वका जुनसुकै देशमा बसोबास गर्नु भए पनि त्यहाको हस्पिटलमा तपाईको सहयोग परिचयपत्रको फोटोकपी पेस गरिदिनु पर्ने छ ।
यसो गर्दा हाम्रो मृत्यु पछि हामीले दान गरेका अंगहरु सम्बन्धित हस्पिटलबाट स्वास्थ्यकर्मी आएर लैजान्छन् ।
हामीले चाहेको खण्डमा हाम्रो पुरै शरिर पनि दान गर्न सक्छौं । सक्दो सेयर गरौ । जसले गर्दा अकालमा ज्यान गुमाउनबाट बचाउन साथै अरुलाई पनि नयाँ जीवनदान गर्न सकिन्छ ।
एडिक्ट केटी
सरिता एडिक्ट हुन् । उनमा हदैसम्मको एडिक्सन छ । तर, त्यो एडिक्सन हो ‘सेवा’को । सेवा गर्न उनीसँग धन छैन । उनको तन र मन नै काफी छ पीडामा परेकाहरुलाई मल्हम लगाउन । र, मल्हम जुटाउने माध्यम हो, सामाजिक सञ्जाल । ‘मल्हम’ अर्थात जुटाइएको नगद र जिन्सी व्यवस्थापन एवं पारदर्शिताका लागि आफ्नै नामबाट खोलिएको सरिता फाउण्डेसनले काम गर्छ ।
कसैले गरेको सहयोग र विश्वासलाई उचित ठाउँमा पु¥याउन फाउण्डेसनमार्फत जुटेकी सरितालाई देस विदेसबाट मनकारीहरुले निम्ता गरिरहन्छन् । जहाँ उनको उद्देश्य सहयोग जुटाउनु नै हो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बीर, स्टाटस होस् वा स्थानीय र राष्ट्रिय समाचारमा आएका दुखका खबर, सहयोग जुटाउन सरिताको दौडाहा सुरु भइहाल्छ । दौडको सुरुवाती विन्दु हो, सामाजिक सञ्जाल । सञ्जालमा विवरण पोस्टिएपछि उनलाई विश्वास गर्ने मनकारीहरु भेटिइहालिन्छ । अनि सुरु हुन्छ सहयोगको पोकोेपन्तुरो बोकेर पीडितको आँगनमा पुग्ने तयारी । यसैबीच, उनले भनिन्, ‘म एडिक्ट नै हुँ, तर सेवाभावको ।’
८ वर्ष अघिदेखि सुरु भएको समाजसेवाको यात्रामा उनले सम्झनै पर्ने काम गरेकी छिन् । व्यक्तिगत पहलबाटै सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग जुटाई व्यक्तिगत शिक्षा, स्वास्थ्य, आवास निर्माणमा उनको योगदान छ । सरिताबारे पत्रकार केशवशरण लामिछाने भन्छन्, ‘चर्चा र स्वार्थका लागि समाजसेवा गर्नेको भीडमा उनी पृथक छिन्, उनले मनैबाट समाजसेवा गरेका मलाई लाग्छ ।’ सरिताको अंगदानबारे लामिछानेको प्रतिक्रिया छ, ‘अंगदानको निर्णय जति तारिफ गरेपनि कम हुन्छ, उनले वैज्ञानिक आधारमा गरेको उक्त कार्यले समाजलाई सकारात्मक सन्देश दिनेछ ।’ खारपानी बाढीपीडित, भुकम्पपीडित, जुरे पहिरोपीडितदेखि पूर्वी तराइका बाढीपीडितसम्म सहयोग लिएर पुगेकी छिन् सरिता ।
त्यस्तै, बिभिन्न संघसंस्थालाई आर्थिक, लत्ताकपडा एवं खाद्यान्नसमेत सहयोग गरेको उनी बताउँछिन् । समाजप्रतिको सेवामा सन्तुष्टी पाउने उनी आफुलाई समाजसेवी भनेको मन पराउँदिनन् । भन्छिन्, ‘समाजसेवा साह्रै जिम्मेवार र गह्रुंगो शब्द हो, मैले त्यो स्तरको काम गर्न बाँकी नै छ, म केवल सामाजिक अभियन्ता हुँ ।’
सरिताको यिनै काम देखेर नेपाली कांग्रेसकी युवा नेतृ सरस्वती गुरुङ भन्छिन्, ‘उनी जुझारु, मिहिनेती र साह्रै सहयोगी हुन्, उनले धेरैको मुहारमा खुसी पोतेकी छिन्, उनको खाँचो छ । विदेस पुगेकी सरिता फर्कन्नन् कि भन्ने त्रास रहेको बताउँदै उनले भनिन्, ‘रुढिवादी सोंचलाई चुनौती दिँदै सहर्ष अंगदान गरेकी सरितलाई जहाँ भएपनि सहयोगी भइरहन आग्रह गर्दछु ।’
सामाजिक सञ्जामार्फत सहयोग जुटाएर उनले कम्मरदेखि मुनि नचल्ने बखत पहरी, रामकृष्ण सार्की र हंसवीर माझीलाई घर निर्माण गरिदिएकी छिन् । जसमध्ये सार्की कोमामै रहेर बिते, माझी निसन्तान र पक्षघातबाट पीडित छन् । कास्की ढिकुरपोखरीकी चेली सरिताले हालसम्म करिब ३० वटा अभियान सम्पन्न गरिसकिन् तैपनि उनकै भनाइलाई मान्ने हो भने यो केवल उनको सुरुवातमात्रै हो ।
अहिले करिब साढे २ वर्ष भयो सरिता अमेरिका छिन् । विदेशमा बस्नेहरुको रुटिन पक्कै जटिल हुन्छ । काम गर्नुपर्ने, कमाउनु पर्ने, बचाउनु पर्ने इत्यादि । तर सरिताको दैनिकी यतिमै सिमित छैन । आफै कमाउने ठाउँमा पुगेपछि उनको सहयोगसमेत बढ्दैछ । फेसबुक पेजमा विभिन्न व्यक्तिलाई सहयोग गर्न आग्रह गर्दै स्टाटस पोष्ट्याइरहेकी हुन्छिन् । कति रकम आवश्यक छ । र, कति सहयोग उठिरहेको छ उनको फेसबुकमै हेर्न पाइन्छ ।
देस विदेसमा रहेका मनकारीहरुको मन जित्नु र सहयोगको पोको बोकेर देसको कुनाकाप्चा पुग्नु उनको वर्तमान र भविष्य दुबै हो । बाँच्नका लागि ‘सुको’ कमाउने सोख नभएकी सरितालाई जीवन सरल र सहज तरिकाले बाँच्न पाए हुन्छ । भविष्यका थप योजना सोध्दा उनको सरल उत्तर छ, ‘एडिक्सनलाई निरन्तरता दिने ।’