काठमाडौँ । भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। ६५ वर्षका उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् ।
अंगडी भारतीय जनता पार्टी ९भाजपा० का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए ।
त्यसमाथि प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा त उनी प्रत्यक्ष रुपमा संलग्न नै थिए । भारतको संसदमा उक्त रेलमार्गसम्बन्धी भएका छलफल प्रायस् जसो अंगडीले नै जवाफ दिने गरेका थिए ।
अंगडीले नेपाल र भारतबीचको धामिर्क एवं सांस्कृतिक सम्बन्धलाई पनि विशेष महत्व दिने गरेका थिए । विशेषगरी पशुपतिनाथका कारण नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको उनको बुझाई थियो ।
यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् ।
उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।