कोभिड १९ का सबै बिरामी निको भएपछि धौलागिरी अस्पताल खाली

बाग्लुङ । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरी अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । संक्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत ३ जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् ।

चैतको १५ गते बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा राखेर अस्पतालले कोभिड–१९ को पहिलो उपचार चालेको थियो । उनी वैशाख १२ गते निको भएर घर फर्किएपछि जेठसम्म अस्पतालमा बिरामी आएनन् ।

जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल मंगलबारदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिएका छन् । गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १ सय ७४ जनाले उपचार गराए ।

गौतमका अनुसार अस्पतालले ७ महिने बच्चादेखि ६५ वर्षीय वृद्धसम्मलाई आइसोलेसनमा राखेर उपचार गरेको थियो । अस्पतालमा उपचार गराउनेमा ५ स्वास्थ्यकर्मी, ३ जनप्रतिनिधि र ३ जना सुत्केरीसमेत छन् । २५ महिला संक्रमितको उपचार भएको अस्पतालमा १ सय ४९ जना पुरुषले कोभिड–१९ को उपचार गराए ।

‘अहिले स्थानीय तहमा पनि अस्थायी कोभिड–१९ अस्पताल बनेका छन्, त्यसैले बिरामीहरु आउनुभएको छैन, पहिले रहनुभएका सबै निको भइसक्नुभयो ।’ गौतमले भने, ‘अब नियमित सेवा सञ्चालनमा सहज हुन्छ ।’ रासस

कमेन्टहरु
Loading...