अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने, ‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ, आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।’

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । उनले खोप हरेक महिनामा दशौं लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताएका थिए ।

शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन् । अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु विगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविस्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेका छन् ।’

त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिएका छन् । उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने बताए ।

अमेरिका विश्वमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ । शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...