तनहुँमा ५० प्रतिशत दूध खपत घट्यो

तनहुँ । तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो । जिल्लामा दैनिक ३ हजार लिटर दूध सजिलै खपत हुने गरेको भए पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्द भएपछि १ हजार ५ सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक संघले जनाएको छ । संघका अनुसार अहिले दैनिक ३ हजार लिटर दूध संकलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करिब १ हजार ५ सय लिटर दूध पोखरास्थित सुजल डेरीमा पठाउने गरिएको छ ।

दूधको खपतमा कमी आएपछि संघले घीउ, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको संघका सचिव राजु भुजेलले बताए । संघले जिल्लाको व्यास, शुक्लागण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध संकलन गर्ने गरेका छन् । खपतपछि संकलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उनले बताए ।

गोरखा, लमजुङ र तनहुँमा उत्पादन गरिएको दूध संकलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित संघको आफ्नै भवन छ । विसं २०५३ मा भाडाको घरमा ५ वटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो संघमा अहिले १८ सहकारी संस्था आवद्ध भैसकेको संघका अध्यक्ष यज्ञप्रसाद शर्माले बताएका छन् । संघले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरिद गर्ने गरिएको उनले बताएका छन् ।

संघको आफ्नै भवन

लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको जिल्ला दुग्ध सहकारी संघले आफ्नै भवन निर्माण गरेको छ । करिब १ रोपनी जग्गा खरिद गरी ८० लाखको लागतमा भवन निर्माण गरेको संघले जनाएको छ । संघमा हाल २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कम लागतमा बढी उत्पादन लिने नीति

कम लागतमा बढी उत्पादन लिनका लागि संघले आवद्ध किसानलाई समय समयमा आवश्यक तालिम र गोष्ठीको आयोजना गर्दै आएको छ । संघले व्यवसायिक पशुपालनतर्फ किसानलाई प्रोत्साहन गर्ने, किसानले उत्पादन गरेको दूध घरदैलोबाटै खरिद गर्ने र गुणस्तरयुक्त दाना उपलब्ध गराउने नीति लिएपछि दूध उत्पादनतर्फ किसान आकर्षित भएको अध्यक्ष शर्माको भनाइ छ ।

७५ प्रतिशत बोनस वितरण

संघमा आवद्ध किसानलाई ७५ प्रतिशत बोनस वितरण गर्दै आएको छ । तीमध्ये २५ प्रतिशत संघको जगेडा कोषमा र बाँकी रकम सेयर बोनसमा खर्च गर्ने गरिएको छ । संघले वार्षिक १० देखि १५ करोड रुपैयाँको कारोवार गर्ने गरेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...