पोखरा । समुदायमा आधारित रहेर कार्य गरिरहेका कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र काठमाडौको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।
दुवै सहकारीबीच सोमबार औपचारिक रुपमा जुम बैठक मार्फत परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले राम्रा अभ्यास र सिकाइहरुलाई एक आपसमा साझेदारी उद्धेश्य रहेको बताए ।
सहकारी संस्थाहरुको बीचको एकरुपता कायम गर्न र सहकारीलाई अझै राम्रो बनाउनका लागी सझेदारी गरिएको उनले बताए ।
गुरुङका अनुसार सोमबार औपचारिक परिचायात्मक कार्यक्रम मात्रै गरिएको हो । यसबारे कसरी अगाडी बढाउने भन्ने बारे कार्यविधी बन्न बाँकी रहेको छ ।
चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सहकारीको ७ वटा सिद्धान्त मध्य सहकारी-सहकारी पारस्परिक सहयोग भन्ने रहेकाले त्यसलाई आत्मसाथ गरिएको बताए ।
उनले अन्तरसहकारी सम्बन्धलाई अभिबृद्धी गर्ने उद्धेश्य रहेको बताए ।
‘कोरोनापछिको अवस्था सहकारीको अवस्थालाई कसरी जोगाएर लैजाने भन्ने बारे फरक फरक ठाउँका अभ्यासहरुलाई एक आपसमा आत्मसाथ र सहकार्य गर्दै अगाडी बढ्ने उद्धेश्य पनि हो’, उनले भने ।
पोखरा रोयल साकोसका अध्यक्ष तुलसी प्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिव शंकर मानन्धरले जुम बैठक मार्फत दुवै संस्थाको भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गर्नुभएको हो ।
दुवै संस्थाको बिकासक्रम, कार्यक्षेत्रको वस्तुस्थिति, उपलब्ध वस्तु तथा सेवा र सहकारी अभियान तथा समुदायको विकास प्रतिको दृष्टिकोणमा समानता रहेकोले पनि दुई संस्था बीच भगिनी सम्बन्ध कायम गर्न लागिएको कुरा दुवै संस्थाका अध्यक्षहरुले व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले भगिनी सम्वन्ध कायम गर्नुको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्ने, कार्य सञ्चालनमा व्यवसायीकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्ने, गुणस्तरीय सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्ने र असल अभ्यास तथा अनुभवहरुको नियमित आदान प्रदान गर्ने रहेका छन् ।
पोखरा रोयल साकोस २०५९ सालमा स्थानिय २८ जना सदस्यहरुबाट स्थापित भई कास्की, स्याँङ्गजा, तनहुँ र लम्जुङ्ग जिल्ला भर कार्यक्षेत्र लिई पोखराको बुद्धचोकमा प्रधान कार्यालय र तनहुँको दुलेगौडा, कास्कीको भण्डारढिक र मोहरियामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । हाल संस्थामा ७६०४ शेयर सदस्य र ४२ जना कर्मचारीहरु रहेका छन् ।
त्यसरी नै संस्थाको चुक्ता शेयर पुँजि १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्व ८६ करोड पुगेको छ ।
संस्थाले एटिएम सेवा, रोयल स्मार्ट बैकिङ्ग. र एसएमएस बैकिङ्ग मार्फत सेवा प्रदान गरि रहेको छ भने हाल संस्था प्रोवेशन ब्राण्डमा आवद्ध भएको छ ।
चन्द्रागिरी साकोस २०५८ सालमा स्थानीय २५ जना सदस्यबाट स्थापना भएको समुदायमा आधारित सहकारी संस्था हो । संस्थाले हाल काठमाडौ र ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाएको छ भने काठमाडौको चन्द्रागिरी न.पा.को थानकोट महादेवस्थानमा प्रधान कार्यालय रहेको उक्त संस्थाले लगनखेल र दहचोक सेवाकेन्द्रको स्विकृति प्राप्त गरिसकेको हुँदा उक्त स्थानमा कार्यालय सञ्चालनको तयारीमा रहेको छ । संस्थामा हाल ३४ जना कर्मचारी र १०८७५ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको हालको चुक्ता शेयर पुँजि १० करोड ६४ लाख, जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्व १० करोड पुगेको छ । संस्थाले स्मार्ट बैकिङ्ग र एसएमएस बैकिङ्ग मार्फत सेवा प्रदान गरि रहेको र एटिएम सेवा सञ्चालनको तयारीमा रहेको साथै संस्था एक्सेस ब्राण्डिङ्ग कार्यक्रमा समेत सहभागि भईरहेको छ ।