मध्यपहाडी लोकमार्गमा यात्रा गर्न सास्ती

पर्वत । पर्वत सदरमुकाम कुश्माबाट गण्डकी प्रदेश राजधानी पोखरासम्मको दूरी ६७ किलोमिटर छ । यसअघि ठाउँठाउँमा सडक भत्किएका कारण कालोपत्र भए पनि ट्याक्सी हाँकेर पोखरा पुग्न बढीमा सवा घण्टा लाग्थ्यो । तर अहिले सडक झनै बिग्रिएको छ । सवारी साधन चढेर कुश्माबाट पोखरासम्म पुग्न साढे २ घण्टासम्म लाग्ने गरेको छ । सडकको अवस्था सन्तोषजनक हुँदा पोखराबाट कुश्मा आइपुग्न २ घण्टा लाग्ने मालवाहक ट्रकलाई अहिले ४ घण्टासम्म लाग्ने गरेको छ । विभिन्न ठाउँमा सवारी साधन फस्ने समस्याले घण्टौंसम्म जाममा बस्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन् । कालोपत्र गर्नका लागि तयारी अवस्थामा राखिएको सडक बर्खेझरीले बिग्रिएको छ । पानी जमेको सडकमा लगातार सवारी साधन चलाइएपछि अहिले ठूलाठूला खाडल बनेका छन् ।

जताततै खाडल परेका कारण कार र ट्याक्सीजस्ता होचा खालका र दुइपांग्रे सवारीसाधनमा क्षति पुग्ने गरेको ट्याक्सी चालक दुर्गा बस्याल बताउँछन् । ‘यो बाटो बनाउन लागेदेखि अहिलेसम्म ३ पटक मेरो ट्याक्सीको च्यासिस नै गयो । सडकमा खाल्डा र ढुंगा छन् । त्यहीं पानी भरिएको छ ।’ उनले भने, ‘खाल्डा, डाँडा र ढुंगा नभएको ठाउँ नै छैन । जति जोगाएर चलाए पनि तल छोइहाल्छ ।’

तत्कालै सडक कालोपत्र नगरिए पनि सडकमा भएका खाडल मात्रै पुरिदिए सवारी सञ्चालनमा सजिलो हुने बस्यालको भनाइ छ । खाद्यान्न सामग्री ओसार्ने ट्रकका चालक जीवन थापामगरले मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको फेदीखोला आसपासका ठाउँमा सडकको हिलो र खाडलका कारण सवारी फस्दा घण्टौंसम्म बस्नुपरेको र एकपटक गाडीमा नै सुत्नुपरेको बताए । ‘साना सवारी साधन त सराङकोटको बाटो भएर पनि पोखरा आउजाउ गर्छन्, ठूला ट्रक त्यताबाट लैजान पाइँदैन । नाउडाँडाबाट फेदी हुँदै जानुपर्छ ।’ उनले भने, ‘एकपटक पोखराबाट गुडेको ट्रक फसेको रहेछ । निकाल्न सकिएन, त्यहीं जंगलमा गाडीभित्रै सुतेर रात कटाइयो ’। कोरोना संक्रमणको यो अवस्था आउनुभन्दा पहिले सडकको काम धमाधम भए पनि लकडाउन यता मजदुरलाई सबैभन्दा बढी समस्या परेको छ ।

निर्माण सामग्री बोकेका सवारी लकडाउनकै अवधिमा सञ्चालनमा रहेका भए पनि कामदार ल्याउन र पठाउन कठिनाइ परेको छ । काम रोकिएको र यही बेलामा वर्षा धेरै भएकाले पनि कालोपत्र गर्ने तयारीमा पुग्न लागेको सडक बिग्रिएको लोकमार्गअन्तर्गत पर्वतमा काम गरिरहेको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालको भनाइ छ । यही अवस्था कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले अब जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर काठमाडौंबाट सुपरभाइजर र मेकानिकल टिम बोलाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् । साथै करिब २० मजदुर पनि ल्याउन लागिएको उनको भनाइ छ ।

‘सुपरभाइजर, मेकानिकल टिम र २० मजदुर काठमाडौंबाट हिँड्ने तयारीमा छन् । तर पहिले उहाँहरूको पिसिआर रिपोर्ट चाहियो, त्यही पर्खिएका छौं ।’ भुसालले भने, ‘अब १ हप्तामा नै काम सुरु हुन्छ होला, तर सडकका खाल्डा पुर्न र सडकको स्तरोन्नति गर्न नै २० दिन जति समय लाग्ने देखिन्छ ।’ निर्माण कम्पनीले असोजको १०/१२ गतेतिरबाट कालोपत्र गर्न थाल्ने र असोज महिनाभित्र सो काम सकेर कात्तिकबाट कालोपत्रबाहेकका बाँकी रहेका काम गर्ने उनले जानकारी दिएका छन् ।

तापक्रम बढी भएको बेला असोजभित्रै कालोपत्रको काम सक्ने तयारी थालिएको छ । असार मसान्तअघि नै कालोपत्रको काम सक्ने लक्ष्य राखेर निर्माण कम्पनीले काम थाले पनि कोरोना कहरका कारण त्यो लक्ष्य टरेको छ । लोकमार्गको पर्वतखण्डअन्तर्गत रहेको करिब २४ किलोमिटर सडकलाई २ लेनको बनाउने गरी निर्माण थालिएको छ । पर्वत सदरमुकाम कुश्मा बजार हुँदै बाग्लुङ जाने उक्त सडकको कुश्मा खण्डलाई ४ लेन फराकिलो बनाउन लागिएको हो । रासस

कमेन्टहरु
Loading...