परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि कारोना विरुद्धको खोप परीक्षण स्थगित

काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि कोरोना भाइरसविरुद्धको खोप परीक्षण हाललाई स्थगित गरेकोछ । ती व्यक्ति कसरी बिरामी भए भन्ने अनुसन्धान भइरहेको र त्यो पत्ता लागेपछि मात्रै खोपको परीक्षणलाई पुन सञ्चालन गरिने एस्ट्राजेनेकाले बताएको छ ।सुरक्षा मापदण्डका बारेमा समीक्षापछि मात्रै खोपको पुन परीक्षण हुने नहुने टुंगो लाग्ने बताइएको छ ।

हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सबैभन्दा अगाडि छ । अक्सफोर्ड र एस्ट्रेजेनेकाले विकास गरेको खोपमा विश्वकै ध्यान केन्द्रित थियो ।

पहिलो र दोस्रो चरणको परीक्षण सफल भएपछि छिट्टै नै अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोप आम प्रयोगमा आउन सक्ने अनुमान गरिएको थियो । कोरोना भाइरसविरुद्धको खोप अन्तिम परीक्षणका क्रममा रहेको बताइएको थियो । तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी करिब ३० हजार जनालाई सहभागी गराइएको थियो ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावअघि नै खोप उपलब्ध हुने दाबी गरेका छन् । तर सुरक्षा मापदण्डलाई भन्दा पनि राजनीतिक फाइदाका लागि हतारमा खोप ल्याइए त्यसले झन् चुनौती थपिने वैज्ञानिकहरुले चिन्ता व्यक्ति गरेका छन् ।

त्यसैगरी जोन्सन एन्ड जोन्सन, बायो एनटेक, ग्लाक्सो स्मिथ क्लाइन, फिजर, मर्क, मोडर्ना, सानोफी, नोभाभाक्सलगायतका कम्पनीले पनि कोरोना खोपको परीक्षण गरिरहेका छन् ।डब्लूएचओको आवश्यक चरण र सुरक्षा मापदण्डबिना कोरोना खोप प्रयोगमा ल्याए त्यसले गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिँदै आएको छ ।

कमेन्टहरु
Loading...