दिपक के श्रेष्ठ
पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्समा कार्यरत ८३ मजदुरमा कोरोना संक्रमण पाइएपछि यहाँ अहिलेसम्मकै बढी संक्रमित पाइएको तथ्यांक बनेको छ ।
३ सयको संख्यामा कार्यरत मजदुरबीच १० दिन अघि पहिलो संक्रमित फेला परेको हो । फुड्समा कहाँबाट कसरी संक्रमण भेटियो भनेर बुझ्दै जाँदा त्यहाँ कार्यरत एक महिला कर्मचारीका श्रीमान पोखराको वित्तीय संस्थामा काम गर्ने र उनैबाट श्रीमतिमा संक्रमण सरेपछि उद्योगमा फैलिएको प्रारम्भिक अनुमान छ ।
पहिलो संक्रमण भेटिएलगत्तै कारखानामा काम रोकी बाँकी मजदुरको स्वाब परीक्षण सुरु गरिएको थियो । फलस्वरुप, मंगलबार बिहानसम्म ८३ जनामा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार फुड्सका सम्पूर्ण कर्मचारीको स्वाब परीक्षणको नतीजा आइसकेको छ ।
जसअनुसार करिब २ सय १७ जनाको नतीजा नेगेटिभ आएको छ । यद्यपि, उनीहरुसँग सम्पर्कमा आएका अन्यको ट्रेसिङ गरी स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ ।
उनीहरुमा कोरोना संक्रमण पाइए हाल नेगेटिभ देखिएका साढे २ सयको पुनः परीक्षण गरिने निर्देशनालयले जानकारी दियो ।