३ वर्षपछि बल्ल आर्थिक अधिकार पाउँदै वडा, कार्यान्वयन चुनौतिपूर्ण

ऋषिकान्त पौडेल

गाउँ गाउँमा सिंहदरबार भनिएपनि स्थानीय चुनाव सम्पन्न भएको तीन वर्षपछि बल्ल पोखरा महानगरपालिकाका वडा कार्यालयले आफै आर्थिक कारोबार गर्न पाउने भएका छन् ।

महानगरपालिकाको ४१ औ पूर्ण बैठकले सबै वडा कार्यालयलाई आर्थिक अख्तियारीसमेतको अधिकार प्रत्यायोजनसँगै आफ्नै बैङक खाता समेत खोल्न पाउने भएका हुन् । यो निर्णयसँगै महानगरपालिकामा स्थापित बिभिन्न पाँचवटा सेवा केन्द्र पनि खारेज भएका छन् ।

तर वडालाई अधिकारसम्पन्न बनाउन खोजिएपनि आवश्यक गृहकार्य नभई हचुवाका भरमा यो निर्णय गरीएकोमा हस्ताक्षरकर्ता वडाअध्यक्षहरु स्वयंम असन्तुष्ट छन् । ‘छैटौ तहका अधिकृत खटाईएको भरमा आर्थीक अधिकार दिने भनिएको छ पर्याप्त कर्मचारी नै छैनन् ।’ वडा नंम्बर ४ का अध्यक्ष शंकर बाँस्तोलाले भने । बाँस्तोलाका अनुसार वडामा लेखापाल समेत खटाईएको छैन । कर्मचारी परीपूर्ति नभई यो निर्णय गरीनु नै गलत भएको पाँस्तोलाको ठम्याई छ । ‘बैङक खाता त खोल्ने भनिएको छ तर खाता खोल्नका लागि मुखले भनेर मात्र के हुन्छ र ? पहिले कर्मचारीको व्यवस्था हुनुप¥यो नि’, अध्यक्ष बाँस्तोलाले भने । हाल वडामा स्थायी दरबन्दीका मात्रै नभई अस्थायी कर्मचारी समेत अपुग भएका बेला यो निर्णय कार्यान्वयनमा आशंका रहेको उनको भनाई छ ।

बाँस्तोलाले यो प्रतिक्रिया दिईरहँदा केही वडाध्यक्षहरु भने वडामा प्राप्त आर्थिक अधिकारको निर्णयप्रति सकारात्मक बनेका छन् । वडाले कार्यालय संचालनमा आईपर्ने स–साना आर्थिक आवश्यकता पूर्तिका लागिसमेत सेवा केन्द्र धाउनुपर्ने बाध्यता अब नरहेकोमा उनीहरु सन्तुष्ट भएका हुन् ।

‘सामान्य एउटा २० रुपैयाँको कलम किन्न पर्ने भएपनि १ सय रुपैयाँ खर्च गरेर महानगर वा सेवा केन्द्र धाउनु पथ्र्यो । कमसेकम अब यस्ता समस्या त हुदैनन् नि’, वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापाले भने । यो निर्णयले वडा कार्यालयलाई स्थानीयको दुखसुखमा साथ दिन पाउने अवसरका रुपमा पनि उनले ब्याख्या गरे । ‘वडामा कोहि भोकै बस्नुपरेको छ वा सानोतिनो आर्थिक अभावमा कुनै रोगले उपचार पाउन सकिरहेको छैन भने पनि स्थानीय सरकार भनिएको वडा कार्यालय भए नभएको जनताले आभास गर्न पाएका थिएनन् अब भने सहज होला’, थापाले भने ।

यसैगरी वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङले पनि आर्थिक अख्तियारको अधिकारले वडा कार्यालयलाई थप जिम्मेवार बनाउने बताए । सामान्य प्रशासनिक खर्चसमेत आफैले गर्न नपाउने अवस्थाको अन्त्य भएको जनाउँदै तामाङले कर्मचारी अभावको विषयलाई सम्बोधन गर्न माग गरे ।

प्रत्येक वडामा यस आर्थिक वर्षका लागि ७० लाख रुपैयाँ बिकास बजेट विनियोजन भएको छ । त्यसबाहेक प्रशासनिक खर्चतर्फ वडाले १० लाख रुपैयाँसम्म आफ्नो तजबिजले खर्च गर्न पाउनेछन् ।
आफु सरुवा भएर नआउँदै नगर सभाले पारीत गरेको आर्थिक अधिकारसहितको वडा कार्यालयबारे निर्णय कार्यान्वयनको पक्ष भने चुनौतीपूर्ण रहेको प्रमुख प्रशासकीय अधिकृत महेश बराल बताउँछन् । त्यसको प्रमुख कारण पर्याप्त कर्मचारी नहुनु नै हो ।

‘अहिलेलाई प्रत्येक वडामा लेखापाल पु¥याउन सक्ने अवस्थामा छैनौँ तसर्थ एक जना लेखापालले कम्तीमा ३–४ वटा वडा हेर्ने गरी खटाउने तयारीमा महानगर छ’, बरालले उल्लेख गरे । वडामा स्थायी दरबन्दीकै लेखापाल खटाईनुपर्ने भएकाले हाललाई कर्मचारी व्यवस्थापनमा जटीलता भएकाले संघिय मामिला मन्त्रालयसँग कर्मचारीको माग गरेको पनि उनले जानकारी दिए । ‘मन्त्रालयसँग ३३ जना लेखापाल र १० जना सहलेखापाल माग गरेका छौ, त्यो माग पुरा हुन सके कर्मचारीको समस्या हुँदैन’, बरालको दाबी छ । तर महानगरमा रहेका लेखापाल कर्मचारीको संङख्या बढाउन नसके असार मसान्तको समयमा कठीनाई पर्ने पनि बरालले बताए । त्यो अवस्थामा शहरी क्षेत्रमा रहेका वडाहरुको खाता महानगर आफैले चलाउन पर्ने अवस्थाको पनि बरालले आँकलन गरे ।

योसँगै महानगरको बैठकले उप प्रमुखसंग महिला कार्यक्रम कोष संचालन निर्देशिका २०७७, व्यवसाय कर सम्बन्धी कार्यविधि, घरबहाल कर व्यवस्थापन कार्यविधि, विज्ञापन कर संकलन कार्यविधि २०७७ सहित दर्जन बढी निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...