तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएन्न् ।त्यस्तै कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा थिए । दिनभर लाइनमा बस्दा पनि उनले मल पाएन्न् ।
कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताए । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए ।
दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे ।
प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।
रासस