कोरोनाबाट भारतमा ३७ लाख र विश्वभरी २ करोड ५९ लाख संक्रमित

एजेन्सी । कोरोना भाइरसबाट भारतमा कुल संक्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म संक्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५ सय २३ पुगेको हो ।

तीमध्ये ७८ हजार ३ सय ५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कुल संक्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ । तीमध्ये १ हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि ८ लाख एक हजार २ सय ८२ जना संक्रमित अवस्थामै रहेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी २ करोड ५९ लाख २५ हजार ४ सय ७० जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म ८ लाख ६१ हजार ६ सय ६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।

मृत्यु भएका र संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितको संख्याका आधारमा ३८ औं स्थानमा रहेको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा ६२ लाख ५८ हजार २८ जना संक्रमित हुँदासम्म १ लाख ८८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७ सय ९० जना संक्रमित रहेकामा एक लाख २२ हजार ६ सय ८१ जनाको मृत्यु भएको तथ्यांक छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २ सय १५ ओटा देशमा पुगेको छ ।

सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुँदै विश्वभरी फैलिएको हो ।

यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय वैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन् । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १ सय २५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ । जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म ९ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ । रासस

कमेन्टहरु
Loading...