पाकिस्तानको इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा रोमाञ्चक जित

काठमाडौँ । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ ।

म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको उत्कृष्ट ब्याटिङ र हैदर अलीले डेब्युमै अर्धशतक बनाएपछि पाकिस्तानले खेल जितेको हो । पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टनले ४६ रन, साम बिलिङ्सले २६ रन बनाए । बलिङमा पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले २-२ विकेट लिए ।

इमाद वसिम र हरिस राउफले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । पाकिस्तानका लागि उच्च स्कोर बनाउन मोहम्मद हफिजले अविजित ८६ रन बनाए । उनले ५२ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे ।

टी-२० मा डेब्यु गरेका हैदर अलीले ५४ रन बनाए भने कप्तान बाबर आजमले २१ र सहाब खानले १५ रन जोडे । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ र मोइन अलीले १ विकेट लिए । यसअघि तीन खेलको टेष्ट सिरिज इंग्ल्याण्डले जितेको थियो । इंग्ल्याण्डले अब सेप्टेम्बर ४ देखि अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज सुरु गर्नेछ ।

कमेन्टहरु
Loading...