डायमण्डमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयले २०७६ सालको एसइई परिक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण विद्यालयमा उपस्थित हुन नसकेकाले प्रविधिको उच्चतम प्रयोग गरेर एसइई उत्तीर्ण हुने विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वका साथै शिक्षकको सहभागितामा जुम एपको प्रयोग गरि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत विश्वराज आचार्यले एसइई परीक्षामा उत्तीर्णलाई बधाई र शुभकामना दिंदै विद्यालयले अहिलेको विषम परिस्थितिमा अनलाइनमार्फत् प्रभावकारी ढङ्गले शिक्षण सिकाई प्रकियालाई अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए । डायमण्डले हालसम्म नतिजा पनि राम्रो ल्याउने गरेको पाइएको बताउँदै विद्यालय स्तरीय भएको बताएका छन् ।

विद्यालयका निदैशक माधवशरण उपाध्यायले उत्तीर्णलाई बधाई र शुभकामना दिंदै विद्यालयले नतिजा तयार पार्दाको विधि र प्रक्रिया, विद्यार्थीका लागि अबको विकल्प, विद्यालय संरचना र पाठ्यक्रममा आएको परिर्वतनसँगै डायमण्ड मा.वि.मा उपलब्ध विषय तथा सुविधाको बारेमा जानकारी दिएका थिए ।

विद्यार्थीहरुलाई प्रेरणा दिदै मानवले आफूमा भएका असीमित ऊर्जाको प्रयोग गर्दै आफ्नो विशिष्ट क्षमतालाई व्यवहारमा ल्याउन ज्ञानसँगै निरन्तर अध्ययन र अभ्यासलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

विद्यालयका प्रिन्सिपल एमबहादुर रोकाले २६ औं ब्याचका एसइईमा सहभागी ७९ जना विद्यार्थीले राम्रो जिपिए सहित उत्तीर्ण भएकोमा बधाई व्यक्त गर्दै विषम परिस्थितिमा विद्यालयले पाएको जिम्मेवारीलाई निर्धारित प्रक्रियाअनुसार विश्वसनीय ढंगले निर्वाह गरेको बताएका थिए । विद्यालयको ऐतिहासिक परिचयसँगै कक्षा ११ र १२ मा धेरै र रोजाइका विषय पठनपाठन गर्ने गरिएको र यस वर्षदेखि विषय थप गरिएको जानकारी दिएका छन् ।

विद्यालयका +२ संयोजक शिवप्रसाद लामिछानेले डायमण्ड मध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढाइ हुने विषय, भौतिक सुविधा र विगतको उत्कृष्ट नतिजाको जानकारी गराउँदै अबको पढाइ अझ महत्वपूर्ण हुने बताएका थिए । कक्षा ११ को लागि अनलाइनमार्फत् फाराम भर्न सकिने, भाद्र २३ देखि भर्ना सुरु हुने र असोजको पहिलो हप्तादेखि अनलाइनमार्फत् कक्षा सञ्चालन गरिने जानकारी दिएका छन् ।

अभिभावकको तर्फबाट आफ्नो भनाई राखेका अभिभावक ऋषिराम जमरकट्टेलले विद्यालयको शैक्षिकस्तर र व्यवस्थापन पक्ष राम्रो रहेको र प्रविधिमैत्री रहेको बताउँदै आफ्नो २ जना छोराछोरीले यस क्षेत्रमा सर्वप्रथम सञ्चालन गरेको भर्चुअल कक्षाबाट लाभ लिएका र सो कक्षा प्रभावकारी रहेको बताउँदै अन्य अभिभावकलाई पनि विद्यालयबाट लाभ उठाउन आग्रह गरेका छन् । विद्यार्थीको तर्फबाट सौरभ खत्री, सौरभ सुवेदी, स्नेहा श्रेष्ठ र निश्चा शर्माले आफूहरुले विद्यालयमा भोगेका भोगाईका साथै अबको शिक्षा पनि डायमण्डमा नै निरन्तरता दिने विचार व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...