पोखरा\महालेखा परिक्षकको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको कार्यालयबाट पौने दुई करोड हराएको छ । मलेपको प्रतिवेदन प्रश्चात पोखरा महानगरपालिकासँग पौने दुई करोडको हिसाब माग्नेहरुको भिड नै लाग्यो । बारबार प्रश्न उठेपछि मेयर मान बहादुर जिसिले २५ दिनभित्र हिसाब सार्वजानिक गर्ने प्रतिवद्धता व्यक्त गरे तर हिसाब भने सार्वजानिक हुन सकेन ।
मेयर जिसिले प्रतिबद्धता जाहेर गरेर तत्कालै जयराम पौडेलको नेतृत्वमा एउटा छानविन समिति बनाए । जयराम पौडेलले भने मेयर आँफुलाई संयोजक बनाएकोमा नै असन्तुष्टी पोखेँ । ‘म आँफै आरोपी छु ,मलाई नै छानबिन समितिको अध्यक्ष बनाउने कुरा कसरी भयो अच्चमित छु । छानविन समिति बनेपछि काम त थालेका छौँ । तर मेयर सापले भने झै २५ दिनमा नै पौने दुई करोडको हिसाब त आउँदैन । कम्तिमा दुई महिना लाग्छ । त्यो पनि छानबिन समितिलाई नै असहयोग गर्ने काम भईराखेको छ । पुरानो अधिकृतहरुले फाइल बुझाउनुपर्ने अझै सम्म बुझाउनु भएको छैन । बर्षभरीको हिसाब खोज्न त समय नै लाग्छ । वडाबाट उठ्ने राजश्व समयमा बैँकमा दाखिला नहुँदा वा दराजमा थन्किदा त्यस्तो समस्या आएको हुनसक्छ । टेण्डरका शुल्कहरुलाई आम्दानीमा नबाध्दा पनि बैँक खातामा हिसाब नमिलेको हुन सक्छ । छानबिन नगरी केहि भन्न सकिँदैन । पौने दुईकरोड भन्दा बढी हराएको नि हुनसक्छ कत्ति पनि नहराएको पनि हुनसक्छ ।’
छानविन समिति र कर्मचारीहरुको तालमेल नमिल्दा पौने दुई करोडको हिसाव अझैँ अन्यौलमा परेको छ । तत्कालिन राजस्व अधिकृत छवि शर्माले फाइलहरु नबुझाउँदा कामले गति नलिएको पौडेलले जिकिर समेत गरे । राजस्व अधिकृत शर्माले भने अबको एकदुईदिनमा सबै फाईल छानविन समितिलाई बुझाउने बताएका छन् ।
महानगरमा उठेको पैसा बैँक खातामा दाखिला नहुँदा मलेपले बेरुजु देखाएको जानकारहरु बताउँछन् । मेयरले २५ दिनमा सार्वजानिक गर्ने भनिएपछि महानगरको पौने दुई करोडको हिसाव तत्काल आउने संभाबना भने साह्रै कम छ।
