एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७ सय ६१ जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।
मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार योसँगै भारतका कुल संक्रमितहरुको संख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ । पछिल्लो १ दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाको संख्या ९ सय ४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये ७ लाख ६५ हजार ३ सय २ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।
कूल संक्रमित मध्ये २७ लाख १३ हजार ९ सय ३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४ सय ६७ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् । रासस