निजी संस्थाले सेवा मात्र हो भन्छ भने जालजेलमा पारेको छ भन्ने थाहा हुन्छ – हरि कार्की, हिमाल कलेज अफ म्यानेजमेन्टका प्रमुख

पोखरा । गाउँ होस् या सहर । अहिले जताततै विभिन्न कलेज स्थापना हुन थालेका छन् । हरेकको आ–आफ्नै विषेशता छन् । एसइई पास गरिसकेपछि विद्यार्थीलाई नै कुन कलेजमा के विषय लिएर पढ्ने भन्ने नै अन्यौलता हुन्छ ।

तर धेरैले गरी म्यानेजमेन्ट विषय नै रोजिरहेका हुन्छन् । गाउँ तथा सहरमा यति धेरै कलेज स्थापना भइरहेका छन् कि, विषय रोज्न सके पनि कुन कलेजमा पढ्ने भन्ने उनीहरुमा अन्यौलता हुन्छ । नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने धेरै कलेजले किताबी पढाईलाई मात्र बढी ध्यान दिइरहेका हुन्छन् । व्यवहारिक ज्ञानतर्फ धेरैको ध्यान गएको पाइदैन ।

तर पोखरामा यस्तो कलेज पनि छ, जहाँ विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन, व्यवहारिक तथा व्यवसायिक ज्ञानमा समेत उत्तिकै ध्यान दिइन्छ । जुन कलेजलाई हिमाल कलेज अफ म्यानेजमेन्ट भनेर चिनिन्छ र यो कलेज पोखरा कै पस्र्याङमा रहेको छ । कलेजका विभिन्न फरक पाटोमा केन्द्रित रहेर गन्थन डटकमका लागि कमल सुवेदीले कलेजका प्रमुख हरि कार्कीसंग कुराकानी गरेका छन् ।

पोखरामा म्यानेजमेन्ट पढाई हुने अन्य कलेज पनि छन् । त्यस्ता कलेजमा पनि पढाई हुने उही नै हो । खासमा विद्यार्थीले म्यानेजमेन्ट पढ्न हिमाल कलेज अफ म्यानेजमेन्ट नेै किन रोज्ने ?

हो । तपाईंले सही भन्नुभयो । पोखरामा म्यानेजमेन्ट पढाउने भनेर धेरै कलेज छन् । अझ भनौं कक्षा ११ र १२ का लागि त हरेक विद्यालय वा फेरी कलेजले यो विषयलाई समेटेका हुन्छन् । किन कि अहिले धेरै विद्यार्थीको रोजाई पनि म्यानेज्मेन्ट हुन्छ । जुन कलेजमा गए पनि पढाई हुने त म्यानेजमेन्ट नै होला । तर हामी अन्य कलेजभन्दा भिन्न छौं । हाम्रो कलेजले व्यवसायिक एवं व्यवहारिक ज्ञानमा बढी जोड दिन्छ । जसका लागि प्रविधिमैत्री पढाई, समय समयमा व्यावसायिक एवं सफल व्यक्तिसंगको अन्तक्रिया लगायतका कार्यक्रम हुन्छन् । यसले गर्दा विद्यार्थीलाई व्यवहारिक ज्ञान लिन मद्दत पुग्छ ।

त्यस्तै हामीले विद्यार्थीको रुची अनुसार प्रत्येक हप्ता अतिरिक्त क्रियाकलापको आयोजना गर्छौं । किन कि हाम्रो मान्यता भनेको विद्यार्थीलाई किताबी ज्ञानले मात्र पुग्दैन भन्ने हो । त्यस बाहेक विद्यार्थीको अभिभावक एवं कलेज प्रशासनमा सुमुधुर सम्बन्ध एवं छलफल, भर्नाको शुन्यबाटै विद्यार्थी लक्ष्य निर्धारण र सो अनुसार व्यक्तिगत उत्प्रेरणात्मक कार्य, सामाजिक दायित्व सम्बन्धी ज्ञान लगायत कुराको प्रयोगका कारण हामी अरुभन्दा भिन्न छौं ।

प्रयोगात्मक शिक्षामा जोड दिएका छौं । सुविधा सम्पन्न भौतिक संरचना छ । अनुभवी तथा दक्ष प्राध्यापक भएकै कारण हामी सफल छौं । पोखरामा चलन चल्तीमा रहेको प्लसटु एवं कलेजमा अध्यापन गरी आफूलाई निखार्दै आएको टिम हामीसँग छ । हामी सिद्धान्तमा हिँडेर पनि पोखरामा आफ्नो उपस्थिति जनाई सकेका छौं ।

हुन त कलेजको नाम नै क्यानेजमेन्ट कलेज भनिएको छ । त्यही पनि प्रश्न गरौं, कलेजमा कुन–कुन विषयको पढाइ हुन्छ ?

संसारमा नै हेर्ने हो भने अहिले व्यवस्थापनको माग उच्च रहेको हामी पाउछौं । अहिले प्राय विद्यार्थीको चाहना व्यवस्थापन अध्ययन गर्ने नै हुने गरेको छ । समय सापेक्ष रुपमा अघि बढ्न हामीले व्यवस्थापन शिक्षण रोजेका हौं ।

त्यसका लागि अहिले जुन परम्परागत सोंच र ढंगबाट कलेज एवं अरु कलेज सञ्चालित छन्, तिनीहरुको विकल्पको रुपमा सफल व्यवसायी, उद्योगी, बैंकर, सिए लगायत उत्पादन गर्न व्यवस्थापन मात्र अध्यापन गर्न यो कलेज स्थापना भएको हो । व्यवस्थापन विषय अहिलेको आवश्यकता हो । त्यो चाहना पुरा गर्न व्यवस्थापन संकाय निर्विकल्प हो ।

पोखरामा यति धेरै कलेजहरु छन् । यो भीडमा सफल हुन सकिएला ?

खासमा सफलता त्यसको नतिजामा भर पर्छ । सञ्चालनको हाम्रो २ वर्षको संख्यात्मक एवं विद्यार्थीहरुको गुणात्मक ज्ञानको तुलना कुनै पनि कलेजसंग गरेर हेर्नुहोस् । पक्का पनि तपाईंले यसको उत्तर मबाट भन्दा त्यताबाट चित्त बुझाउने पाउनु हुनेछ । हामी हाम्रो उद्देश्य अनुसार सफल छौं । स्थापनाको छोटो अवधिमा नै विद्यार्थीको लोकप्रिय कलेज बनेका छौं ।

सरकारले त पछिल्लो समय कक्षा ११ को संकाय हटाउने कुरा गरिहेको छ नि ? यसमा तपाईं के भन्नु हुन्छ ?

संकाय हटाउने भने पनि पठनपाठन संकायको वरीपरी नै रहेर हुने गर्छ । ३ वटा विषय अनिवार्य नै छ । ३ वटा ऐच्छिक छन् । ३ वटा मध्ये विद्यार्थीहरु आफ्नो भविष्यको लागि व्यवस्थापनमा जाने कि अन्य फ्याकल्टीमा जाने भन्ने कुरा त्यहींबाट निर्धारण हुन्छ ।

घुमाउरो पाराले भन्नुपर्दा विषयहरु बढेका हुन् । उद्देश्य भनेको व्यवस्थापन, विज्ञान र अन्य संकायतर्फ जाने बाटो नै अवलम्बन गरेको पाइन्छ । यसले हिमाल कलेज अफ म्यानेजमेन्टलाई झन् परिमार्जन र परिस्कृत गर्दै व्यवस्थापन संकायको स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने जुन लक्ष्य हामीले लिएका थियौं, यसलाई पुरा गर्न थप बाटाहरु खुलेको पाइन्छ ।

अहिले धेरै कलेजहरु स्थापना भइरहेका छन् । धेरै कलेजहरु हुँदा शिक्षाको व्यापार भयो, कलेजहरु बढी व्यापारमुखी भए भन्ने अधिकाशं अभिभावकको गुनासो छ नि ।

पक्कै पनि निजी तवरबाट सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाको उद्देश्य नाफासंग जोडिएको हुन्छ । खासमा कुनै निजी संस्थाले सेवा मात्र हो भन्छ भने पक्कै त्यहाँ अभिभावक एवं विद्यार्थीलाई जालजेलमा पारेको छ भन्ने थाहा हुन्छ र विद्यार्थी तथा अभिभावकले बुझ्नुपर्छ । हाम्रो कुरा गर्नुहुन्छ भने हामी भविष्यको रेखा कोर्नेमा सहयोग हुने शुल्क मात्र लिइरहेको छौं । हामीसंग भविष्य एवं समय प्रशस्त भएकाले हाललाई लागानीको समय मानेर औषत शूल्कमा सम्पूर्ण शैक्षिक गातिविधि अगाडि बढाइरहेका छौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

विश्वमा कोभिड–१९को महामारी भइरहेको बेला आफ्नो एवं पारिवारिक सुरक्षामा विषेश ध्यान दिनुहुन म सम्पूर्णलाई अनुरोध गर्छु । साथै छोटो समयमा कलेजलाई स्थापित गर्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, शिक्षक एवं कर्मचारी सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि तपाईंको माया सुझवको लागि कलेज प्रशासन आशावादी छ । अन्त्यमा अब कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन गर्न ईच्छुक विद्यार्थी भाइबहिनीलाई कलेजका बारेमा बुझ्न अनुरोध गर्छु ।

कमेन्टहरु
Loading...